१२ चैत्र २०८१, बुधबार

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान सञ्चालन हुने

प्रकाशित मिति :  17 February, 2025 7:22 am


लक्ष्मी पोखरेल,
दाङ ।
लुम्बिनी प्रदेश सरकारले यही फागुन ९ गतेदेखि प्रदेशभरका १५ वटा विद्यालयमा एकैसाथ ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान सञ्चालन गर्ने भएको छ।

प्रदेशभरका विद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको व्यवस्थापन तथा विद्यार्थी र शिक्षकहरूको अभिप्रेरणाका लागि अभियान थालिएको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

प्रदेश सरकारका अनुसार यो अभियान सुरुआती चरणमा १५ जिल्लाका विभिन्न विद्यालयहरूमा आरम्भ गरिने भन्दै उनले अभियानलाई क्रमशः अन्य विद्यालयहरूमा विस्तार गरिने जानकारी दिए । अभियान उद्घाटनका लागि विभिन्न मन्त्री तथा प्रदेश सभा सदस्यहरूलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको सहभागितामा अभियान सुरु गर्ने कार्यक्रम रहेकाे मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयको उद्घाटन गर्ने छन्, भने बर्दियाको प्रिय राठौर माध्यमिक विद्यालय, गेरुवा-२ मा मन्त्री जन्मजय तिमिल्सिनाले अभियानकाे सुरुवात गर्नेछन् ।

नारायणी माध्यमिक विद्यालय बाँकेमा आन्तरिक मामिला तथा कमनुन मन्त्री आदेश अग्रवाल, दाङकाे हापुर माध्यमिक विद्यालय, रतनपुरमा उर्जा जलस्राेत मन्त्री सीता शर्मा, रात्री प्राथमिक विद्यालय, बेलुवा घोराहीमा उद्याेग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, पूर्वी रुकुमकाे रुक्मिणी माध्यमिक विद्यालय, रुकुमकोटमा प्रदेश सभा सदस्य धनबहादुर खत्री,
रूपन्देहीकाे ज्ञानोदय माध्यमिक विद्यालय, बुटवलमा प्रदेश सभा सदस्य जमुना ढकालले अभियानकाे सुरुवात गर्ने मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार नवलपरासीकाे जनजागृति माध्यमिक विद्यालय, बुढी पस्यौनी प्रतापपुरमा वन तथा वातावरण मन्त्री देवकरण कलवार, पाल्पाकाे जनता माध्यमिक विद्यालय, तानसेनमा स्वास्थ्य मन्त्री खेम सारु, गुल्मीकाे दुर्गा भवानी माध्यमिक विद्यालय, छापचौरमा भाैतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, गुल्मीकाे दीपक माध्यमिक विद्यालय, मदाने-७ मा कृषि मन्त्री दिनेश पन्थीले अभियान सञ्चालन गर्ने छन् ।

कपिलवस्तुकाे नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरमा प्रदेश सभा सभामुख तुलबहादुर घर्ती मगर, गुल्मीकाे ईश्वरी माध्यमिक विद्यालय, चारपाला-६ मा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, प्युठानकाे महेन्द्र माध्यमिक विद्यालय, खलङ्गामा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ र रोल्पाकाे जनज्योति माध्यमिक विद्यालय, गजुल्कोटमा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले अभियानकाे सुरुवात गर्नेछन् ।

सामाजिक विकास मन्त्रालयका सचिवका अनुसार प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार गर्न यो अभियान थालनी गरेको हो । विद्यालय सुधार र विकासका लागि प्रदेश सरकारले सामुदायिक सहभागिता, विद्यालय व्यवस्थापन समितिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।

सामाजिक विकास मन्त्री तिमिल्सिनाका अनुसार, अभियानअन्तर्गत् विद्यालयहरूको भौतिक पूर्वाधार विकास, शैक्षिक सुधार कार्यक्रम, विद्यार्थी कल्याण योजनाहरू, स्वच्छ र सुरक्षित विद्यालय वातावरणको प्रवर्द्धन तथा विद्यालयमा प्रविधिमैत्री पठनपाठनलाई जोड दिइनेछ।

प्रदेश सरकारले विद्यालय सुधारलाई दीर्घकालीन योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !