१० चैत्र २०८१, सोमबार

युवालाई सशक्त बनाएर समृद्धि हासिल गर्ने सरकारको नीति-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 February, 2025 1:18 pm


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् ।

बुधबार प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे ।

उनले परिपूर्ण लोकतन्त्रले नागरिकलाई अधिकार, अवसर, समानता, सामाजिक न्याय, सुरक्षा, र सम्मानमा समान पहुँचको सुनिश्चितता गर्ने बताए ।

प्रधानमन्त्री ओलीले बढ्दो जनआकांक्षा र चुनौतीहरूसँगै राज्यको संस्थागत सामर्थ्यलाई समायोजन गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाइरहेको दाबी गरे ।

उनले युवा पुस्तालाई देशको भविष्य भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, र उद्यमशीलताको अवसर प्रदान गर्न स्टार्टअप कार्यक्रममार्फत नयाँ ढाँचाको विकास गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउने तथा समाजमा व्याप्त असमानता, गरिबी, र भ्रष्टाचार हटाउने सरकारको प्रतिबद्धता दोहोर्याए ।

उनले दिगो व्यवस्थापनका लागि आर्थिक सूचकांकको वृद्धिमा जोड दिँदै लोकतन्त्रकै माध्यमबाट नेपाललाई सन् २०२६ भित्र अति कम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गराउने लक्ष्य रहेको बताए । साथै, उनले सन् २०३० भित्र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

उनले भने, “राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र हो । समृद्धि भनेको समग्र विकास हो भने सुख भनेको व्यक्तिको मानवीय र जैविक आवश्यकताको सहज परिपूर्ति हो । हामी त्यस दिशामा इमान्दारीपूर्वक अघि बढिरहेका छौं।”

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ओलीले विगतमा प्रजातान्त्रिक अधिकार प्राप्त गर्न संघर्ष गर्ने वीर तथा वीराङ्गनाहरूप्रति सम्मान प्रकट गरे ।

साथै, सुशासन, विकास, समृद्धि, र जनताको सुख सुनिश्चित गर्न प्रभावकारी शासन प्रणालीको आवश्यकता औंल्याउँदै राष्ट्र निर्माणमा सबैलाई एकजुट हुन आह्वान गरे।



प्रतिक्रिया दिनुहोस !