नेपालमा बोलिने भाषा जोगाउनु आवश्यक-पर्यटनमन्त्री पाण्डे
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको भाषाहरूको संरक्षण र संवर्धनमा जोड दिँदै भनेका छन् कि, “हामीले भएका भाषाहरूलाई जोगाउनु पर्छ।”
शुक्रबार काठमाडौँमा आयोजित भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा १३१ भाषाहरू रहेको र ती अझ बढ्न सक्ने सम्भावना रहेको बताए । उनले थप्दै भने, “भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरूको संरक्षण र प्रवद्र्धन गर्नु हो ।”
उनका अनुसार, भाषा आयोगले सम्पूर्ण नेपालभरिका भाषाहरूको अभिभावकत्व लिँदै तिनको संरक्षण र प्रवर्धनको कार्य गर्न अत्यन्त महत्वपूर्ण छ।
मन्त्री पाण्डेले यस अवसरमा संविधान र कानूनमा भएका प्रावधानहरूलाई सम्झाउँदै भने, “संविधान र कानूनमा जे लेखिएको छ, त्यो महत्त्वपूर्ण छ, तर यसको वास्तविक उद्देश्य भनेको भाषा जोगाउनु हो ।”
उनले भाषा आयोगलाई सम्बोधन गर्दै थप भने, “जसको कुनै सहारा छैन, त्यो भाषा जोगाउने काममा हामी सबैले साथ दिनुपर्ने छ। म भाषा आयोगको अभिभावकका रूपमा यो काममा लागि रहनेछु ।”
मन्त्री पाण्डेले संघीय भाषा ऐन बनाउनका लागि मन्त्रालयले पहल गरिरहेको र यससँग सम्बन्धित प्रक्रिया अहिले कानून मन्त्रालयमा पुगेको जानकारी पनि दिनुभयो । “भाषाहरूको संरक्षण र संवर्धनको लागि हामी ऐनको तयारी गर्दैछौं र यस विषयमा मन्त्रालय तत्पर छ”, उनले भने।








