‘लखन थापा मगर कप’ फुटबलको उपाधि चौघेरा स्पोर्ट्स् एकेडेमीलाई

दाङ । प्रथम ‘शहीद लखन थापा मगर कप’ फुटबल प्रतियोगिताको उपाधि चौघेरा स्पोर्ट्स् एकेडेमीले जितेको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबार घोराहीको नवलपुर फुटबल मैदानमा भएको फाइनल खेलमा बिएफएललाई २-० गोलको फराकिलो अन्तरले पराजित गर्दै चौघेरा स्पोर्ट्स एकेडेमीले उपाधि उचालेको हो ।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि, दोस्रो हाफमा चौघेरा स्पोर्ट्स एकेडेमीका सागर पुनले २ गोल गर्दै उपाधि सुनिश्चित गरे ।
बिएफएलले प्रहार गरेका चारवटा बल बार र पोष्टमा लागेर फर्किएपछि गोलमा परिणत हुन सकेन र यसरी उनीहरूले उपविजेताका रूपमा प्रतियोगिता समाप्त गरे ।
प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोर्ट्स एकेडेमीले नगद १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको बिएफएलले पनि नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
पुरस्कार वितरण समारोह मगर दिवसको अवसरमा फागुन १५ गते आयोजना हुने भएको छ, प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका सागर पुनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ। यसअघि चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४-१ गोलले पराजित गरेको थियो, जबकि बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा दाङ, सल्यान र रोल्पासहित १६ वटा टीमको सहभागिता थियो । नेपाल मगर संघले शहीद लखन थापा मगरको स्मृति र सम्मानका लागि हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
फागुन १५ गते मगर दिवसको अवसरमा नेपाल संघ जिल्ला समन्वय समितिको परिसरमा एक समारोहमा खेलाडीहरूलाई पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।