रोल्पामा सिटिभिटीको ३७ औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

रोल्पा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) को ३७ औं स्थापना दिवसको अवसरमा रोल्पा बहुप्राविधिक शिक्षालयले प्रभातफेरीसहित विविध कार्यक्रम आयोजना गरेको छ।
शिक्षालयबाट सुरु भएको प्रभातफेरी लिवाङ बजारको शिवालय, सातले, टुँडिखेल हुँदै पुनः शिक्षालयमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
शिक्षालय प्रमुख तेज प्रताप दुबेको अगुवाइमा आयोजित प्रभातफेरीमा प्रशिक्षकहरू, कर्मचारीहरू, कृषि बाली विज्ञान, कृषि पशु विज्ञान, सूचना प्रविधि कार्यक्रमका विद्यार्थी, सुरक्षाकर्मी, पत्रकारलगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।
प्रभातफेरीका क्रममा सहभागी विद्यार्थीहरूले प्रविधिक शिक्षाको महत्त्व दर्शाउने विभिन्न नारा लगाउँदै जिल्ला सदरमुकाम लिवाङ बजार परिक्रमा गरेका थिए। यस कार्यक्रमले युवा–युवतीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढ्दै गएको स्पष्ट पारेको छ ।
मूल समारोहलाई सम्बोधन गर्दै शिक्षालय प्रमुख दुबेले नेपालको श्रम बजारलाई चाहिने निम्न तथा मध्यम स्तरको जनशक्ति उत्पादनमा सिटिभिटीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै, भविष्यमा प्राविधिक शिक्षालाई श्रम बजारसँग अझ घनिष्ठ रूपमा समन्वय गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
स्थापना दिवसको अवसरमा शिक्षालयले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्राविधिक शिक्षा सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
त्यस्तै, शिक्षालय परिसरमा सरसफाइ कार्यक्रम, खेलकुद प्रतियोगिता तथा रक्तदान कार्यक्रम समेत सम्पन्न भएका छन्। खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
शिक्षालयको यो अभियानले जिल्लामा प्राविधिक शिक्षा र व्यावसायिक सीप विकासलाई थप बल पुर्याउने विश्वास गरिएको छ।