१२ चैत्र २०८१, बुधबार

काठमाडौँ महानगरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, २५४ जनाले लिए लाभ

प्रकाशित मिति :  25 February, 2025 5:05 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य प्रवर्धन केन्द्रले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २५४ जनाको परीक्षण गरिएको छ। यस शिविरमा मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घ रोगका कारण आँखा समस्यामा सङ्क्रमित १३० जना बिरामी सहभागी भएका थिए।

तिनमध्ये १९ जनामा आँखा समस्या पहिचान गरिएको छ र ९ जनालाई थप उपचारको आवश्यकता परेको छ। दीर्घ रोगका कारण आँखाको पर्दा तथा दृष्टिमा पर्ने असरको जाँच र उपचारका लागि शिविरको आयोजना गरिएको थियो। यस क्रममा मधुमेह, रक्तचाप जस्ता रोग भएका बिरामीहरूको आँखाको नानीको जाँच गरिएको थियो।

शिविर विहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको थियो। यस अवसरमा १ सयभन्दा बढीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

शिविरको विषयमा जानकारी दिँदै वडा अध्यक्ष तथा महानगरपालिकाको स्वास्थ्य र शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, “हाम्रो समाजमा दृष्टि सम्बन्धी समस्यालाई उमेरसँगै आउने अवस्थाको रूपमा मात्र बुझिन्छ। तर रक्तचाप, मधुमेहजस्ता अन्य रोगका कारण पनि दृष्टिमा समस्या आउन सक्छ भन्ने कुरा थाहा नहुनुको कारणले हामीले वडाभित्रका समुदाय र विद्यालय स्तरमा आँखाको समस्या सम्बन्धी सचेतनात्मक र उपचारात्मक सेवा सुरु गरेका छौँ।”

महर्जनले यसपछि विद्यालयस्तरमा पनि आँखा जाँच शिविरको आयोजना गर्ने योजना रहेको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !