समाज डेन्टलको सहयोगमा नि:शुल्क दन्त शिविर सम्पन्न, ८०० विद्यार्थीले गरेका दन्त परीक्षण

काठमाडाैँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित तेज बिनायक मा.वि.मा समाज डेन्टल अस्पताल र पेप्सिकोलाको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। उक्त शिविरमा करिब ८०० विद्यार्थीहरूले निशुल्क दन्त परीक्षण गराएका छन्।
समाज डेन्टल अस्पताल र पेप्सिकोलाकी प्रमुख एलिना दाहालले समाज डेन्टलको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य शिविरहरूको आयोजना भइरहेको जानकारी दिइन्। उनले बालबालिकाहरूको दन्त स्वास्थ्यप्रति अभिभावकहरूले बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।
नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका तालिम दल अध्यक्ष बिदुर गिरीले समाजप्रति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा यस्तो शिविर आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै दन्त स्वास्थ्यप्रति सचेत गराउनुपर्ने आवश्यकता रहेको जोड दिए।
विद्यालयमा कार्यरत स्काउटर कुशल कार्कीले यस्तो शिविर आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्दै, समस्याको पहिचान गर्नु भनेको विद्यार्थीहरूलाई थप उपचारमा सहायता पुग्ने बाटो खोल्नु हो भन्ने धारणा राखे।
बिद्यालयका प्राचार्य ओम कुमार श्रेष्ठले अभिभावकहरूले आफ्ना सन्तानलाई बिरामी परेपछि मात्र अस्पताल लैजाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आँखा, दाँत र कानजस्ता स्वास्थ्य समस्यालाई बेलैमा जाँच गराउनुपर्नेमा जोड दिँदै, विद्यालयका धेरै विद्यार्थीमा दन्त समस्या देखिएकाले यस्तो शिविरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
शिविरमा सहभागी विद्यार्थीहरूले निशुल्क सेवा, ब्रश, मन्जन लगायतका सामग्री प्राप्त गरेका थिए। अभिभावक र विद्यालय प्रशासनले पनि आगामी दिनमा यस्ता कार्यक्रम पुनः सञ्चालन गरिने अपेक्षा राख्दै नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू र समाज डेन्टल अस्पताललाई धन्यवाद दिएका छन्।