दश टिमको प्रतिस्पर्धामा चौथो खुमबहादुर खड्का स्मृति भलिबल

दाङ । दाङको घोराहीमा आयोजना हुन लागेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ मा १० टिम सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेस दाङको आयोजनामा हुने यो प्रतियोगिता खेलकुद विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको हो ।
फागुन २० गते मंगलबाररदेखि सुरु हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका टिमहरूको सहभागिता रहनेछ। सहभागी टिमहरूमा शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, जिल्ला भलिबल संघ गुल्मी, मनिमुकुन्द भलिबल क्लब रुपन्देही, होराइजन स्पोर्ट्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा स्कूल लमही, दाङ सोसाइटी क्लब घोराही र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली रहेका छन्।
उत्कृष्ट टिमलाई आकर्षक पुरस्कार
प्रतियोगितामा विजेता टिमले रु. २ लाख ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले रु. १ लाख २५ हजार, तेस्रो हुने टिमले रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सहभागी टिमहरूले ९ जना प्रदेशभित्रका खेलाडी र ३ जना प्रदेशबाहिरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम लागू गरिएको छ।
तयारी अन्तिम चरणमा
प्रतियोगिता घोराहीस्थित सहिद मञ्चमा आयोजना गरिनेछ। तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले जानकारी दिए। खेल मैदान निर्माण, अतिथिहरूलाई निमन्त्रण, प्रचारप्रसारलगायतका कार्य तीव्र रूपमा भइरहेको छ।
फागुन १९ गते सोमवार प्रतियोगिताको टाइसेट सार्वजनिक गरिनेछ। नेपाली कांग्रेस दाङका जिल्ला सदस्य तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका सदस्य खेमराज विश्वकर्माले यो जानकारी दिएका हुन्।
प्रदेशस्तरीय प्रतियोगिताको विस्तार
यसअघि जिल्लास्तरीय रूपमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि लुम्बिनी प्रदेशस्तरीय खुला प्रतियोगिताका रूपमा विस्तार गरिएको छ। यसले लुम्बिनी प्रदेशमा भलिबलको प्रवर्द्धन गर्दै खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विद्यागत रूपमा विशेष पुरस्कार प्रदान गरिने संयोजक राजु आचार्यले बताए।खेलकुद प्रवर्द्धन, खेलाडी उत्पादन र स्मृतिको सम्मानका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने आयोजकहरूको विश्वास छ।