१२ चैत्र २०८१, बुधबार

नेपालले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न संरचनामा लगानी गर्नुपर्छः बुफोन

प्रकाशित मिति :  2 March, 2025 6:34 pm


काठमाडाैँ । इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एशियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेलेको हेर्न चाहेको बताएका छन्।

आइतवार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताएका हुन् । ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उनको भनाइ छ । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुनुहुन्छ । बुफोन आईतवार नेपाल आएका हुन्। उनले आफू सानै छँदा पनि नेपालको झण्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताए ।

नेपाल आउँदा निकै उत्साहित र खुशी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिए । उनी केपी ओली कपको फाइनलका लागि नेपाल आएका हुन् । उनी आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अवस्मरणीय रहेको बताए । आफू सधैं कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको उनले अनुभव सुनाए । अहिले आफू केपी ओली कपको फाइनलका लागि आएपनि फेरि नेपाल आउने उनकाे चाहना छ । 

अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देश बाहिर घुम्ने र यहाँका धार्मिकस्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ ।



प्रतिक्रिया दिनुहोस !