सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ- मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले ऐन, नीति तथा नियममार्फत कर्मचारीहरूको वृत्तिविकासका लागि मार्ग प्रशस्त गरिरहेको उल्लेख गर्दै कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, “प्रदेश सरकारले कुनै पनि पेशाकर्मीलाई निरुत्साहित गर्दैन, बरु प्रोत्साहित गर्दै सेवामा समर्पित हुने वातावरण निर्माण गरेको छ ।”
उनका अनुसार प्रदेश सरकारले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयन गर्न आवश्यक नियमावली तयार गर्ने कार्य अन्तिम चरणमा पुर्याइसकेको छ। “यस नियमावलीमा कर्मचारीको भावना समेटिनेछ,” मुख्यमन्त्री आचार्यले बताए ।
सामाजिक न्याय र पेशागत मर्यादामा जोड
मुख्यमन्त्री आचार्यले स्वास्थ्यकर्मीहरू सामाजिक न्याय र पेशागत मर्यादाका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । साथै, नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै संगठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने धारणा राखे ।
उनले नेता तथा कार्यकर्ताको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको विषय स्वीकार्य हुन नसक्ने स्पष्ट पार्दै विचारमा दृढता आवश्यक रहेको बताए । “सानातिना घटनाक्रमले विचलित हुन हुँदैन, वैचारिक स्पष्टता र दृढता अनिवार्य छ,” उनले थपे ।
नियमावलीले कर्मचारीको मनोबल उच्च बनाउने
स्थानीय सेवा ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री आचार्यले ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत सम्बोधन गरिने बताए ।
प्रदेश सरकारले ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल गरी नियमावलीलाई कर्मचारीहरूको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउने गरी निर्माण गरिने स्पष्ट पारे ।
“नियमावली भावना भन्दा बाहिर जाँदैन, यसले कर्मचारीहरूको वृत्तिविकासमा टेवा पुर्याउनेछ,” उनको भनाइ थियो । प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि सधैं प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले दोहोर्याए ।
कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।