३ चैत्र २०८१, सोमबार

अनेरास्ववियुले लुम्बिनी प्रदेशका क्याम्पसमा एकल उम्मेदवारी दर्ता गर्ने

प्रकाशित मिति :  10 March, 2025 7:10 pm


दाङ । अनेरास्ववियु लुम्बिनी प्रदेशले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तयारी तीव्र पारेको छ। सङ्ठगनले आज घाेराहीमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ९५ क्याम्पसमा एकल उम्मेदवारी दर्ताको तयारी गरेकाे जानकारी दिएको छ।

सङ्गठनका प्रदेश अध्यक्ष सन्ताेष बाँठा मगरकाे अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष बाँठा मगरले अनेरास्ववियुले प्रदेशभर विजयी हासिल गर्ने गरी तयारी थालिरहेकाे जानकारी दिए । स्ववियु निर्वाचनलाई अवसरका रुपमा लिएकाे भन्दै उनले चैत ५ गते हुने स्ववियु निर्वाचनलाई शैक्षिक सुधार र विद्यार्थी अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा लिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बाँठा मगरले प्रदेशका ९५ वटा क्याम्पसमा संगठनात्मक उपस्थिति रहेको र चुनावी तयारी तीव्र पारिएको जानकारी गराए । प्रदेशभरका क्याम्पसमा संगठनका नेताहरू परिचालित भइसकेको उल्लेख गर्दै उनले भोलि सबै क्याम्पसमा उम्मेदवारी दर्ता सुनिश्चित गरिने जानकारी दिए ।

लुम्बिनी प्रदेशका ७ वटा आङ्गिक क्याम्पसमध्ये ४ वटामा उम्मेदवार टुंगो लागिसकेको भन्दै उनले बाँकी ३ वटामा आज साँझसम्म टुंगो लगाइने जानकारी दिए । उनका अनुसार महेन्द्र बहुमुखी क्याम्पस, घोराहीमा सागर पण्डित, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा शेखरजंग शाही, नेपालगञ्ज नर्सिङ क्याम्पसमा देवा अर्चना अधिकारी, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा अनुजा अर्यालकाे नेतृत्वमा निर्वाचनमा हाेमिदै छ ।

अनेरास्ववियुले यस निर्वाचनलाई केवल प्रतिस्पर्धा मात्र नभई शिक्षाक्षेत्रमा व्याप्त विकृति, विसङ्गति र बेथितिलाई अन्त्य गर्ने प्रमुख माध्यमका रूपमा प्रयोग गर्न चाहेको उनले जानकारी दिए । उक्त अवसरमा संगठनका नेताहरूले विद्यार्थीहरूको समावेशी सहभागिता, छात्रवृत्ति व्यवस्था, स्वास्थ्य सुविधाहरू र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

संगठनले शैक्षिक सुधारका लागि आफ्नो चुनावी रणनीति बनाएकाे छ । जसमा शुल्क वृद्धिको विरोध र छात्रवृत्ति व्यवस्थाको सुधार, क्याम्पस जीवनमा देखिएका समस्याहरू समाधान गर्ने ठोस योजना, गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने नीति, स्ववियुलाई विद्यार्थी अधिकार र लोकतान्त्रिक अभ्यासको सशक्त माध्यमका रूपमा स्थापित गर्ने, ऐतिहासिक पृष्ठभूमि र अनेरास्ववियुको भूमिका रहेका छन् ।

नेपालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको भूमिका प्रभावशाली रहँदै आएको भन्दै उनले पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि लोकतन्त्र स्थापनाका आन्दोलनसम्म संगठनले अग्रणी भूमिका निर्वाह गरेको जानकारी दिए । २०४६ को प्रजातान्त्रिक आन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन, तथा विभिन्न समयका शैक्षिक सुधार अभियानहरूमा अनेरास्ववियुले महत्वपूर्ण योगदान पुर्याएको बाँठा मगरले स्मरण गराए ।

संगठनले विगतका संघर्षहरू र विद्यार्थीहरूमाझ व्यापक पहुँचका कारण स्ववियु निर्वाचनमा निरन्तर सफलता प्राप्त गर्दै आएको भन्दै उनले यस पटक पनि अनेरास्ववियुले आफ्नो संगठनात्मक बल, विद्यार्थीमैत्री एजेन्डा र प्रभावशाली नेतृत्वका कारण बलियो विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा उनले अनेरास्ववियुले निर्वाचन तयारीका क्रममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै संगठनको उद्देश्य र गतिविधिहरूलाई समाचार माध्यमबाट प्रसार गर्न अनुरोध गरे ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, राप्ती पाेष्ट दैनिकका सम्पादक शरद अधिकारी, पत्रकारहरु टीकाबहादुर बस्नेत, जेएन सागर, प्रेमबहादुर राम्जालगायतले सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !