१२ चैत्र २०८१, बुधबार

‘नसर्ने रोगको पहिचानका लागि सांसदहरूको स्वास्थ्य परीक्षण, गाउँ-गाउँमा पुर्‍याउन सुझाव’

प्रकाशित मिति :  11 March, 2025 2:40 pm


काठमाडाैँ । सरकारले नसर्ने रोगहरुको पहिचानका लागि संघीय सांसदहरूको स्वास्थ्य परीक्षण सुरू गरेको छ । नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानअन्तर्गत मंगलवार संघीय संसद परिसरमा सरकारले सांसदहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान सुरू गरेको छ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरूको पहिचानका लागि निःशुल्क परीक्षण अभियान सुरू गरेको थियो । अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ ।

अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरूबाट पीडित रहेको बताए । उनले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरूमा हुने गरेको भएपनि पछिल्लो समय नसर्ने रोगहरूका लागि लगानी गर्नुपरेको बताए ।

नसर्ने रोगहरू दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उनको भनाइ छ । उनकाअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अंगलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रुपमा नसर्ने रोगहरुको पहिचान गर्न प्रारम्भिक परीक्षणको सुरूवात गरेको हो । यसमा तौल नाप्ने, उचाईअनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसावमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ । 

संघीय संसदका सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरुलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरुको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताउनु भयो । संसदमा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताए ।

संसद भवन परिसरमा यस अभियानबारे बोल्दै सांसद ईश्वरी घर्तीमगरले नसर्ने रोगहरूको पहिचान गर्न नागरिकस्तरमा पुग्ने गरी सरकारले सञ्चालन गरेको यस अभियानको प्रशंसा गरिन् । उनले निःशुल्क परीक्षण गर्ने भएकाले सबैले परीक्षण गर्न र समयमै रोगको पहिचान गरेर उपचार गर्ने बाटो समात्न आग्रह गरिन् । यस्तो सुविधा सबै गाउँ बस्तीमा पुग्नुपर्ने सांसद घर्तीमगरको भनाइ छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरूको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताए । उनले यसको सूचना व्यापक रुपमा फैल्याउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरूले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने बताए । व्यापक रूपमा हुन नसक्नुमा सूचना प्रवाह व्यापक रूपमा हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !