१४ बैशाख २०८१, शुक्रबार

प्रदेश-५ मा तीन हजारजना कोरोना संक्रमित हुनसक्छन्ः मुख्यमन्त्री पोख्रेल

प्रकाशित मिति :  6 June, 2020 12:31 pm


रुपन्देही, २४ जेठ ।

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र पहिलो चरणमा २ हजार र त्यसपछि थप १ हजार जना कोरोनाबाट संक्रमित हुनसक्ने बताएका छन् ।

परिक्षणको दायरा बढेसँगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य वृद्धिहुने अनुमान गरिएको मुख्यमन्त्री पोख्रेलको भनाई छ । उनले सामाजिक सञ्जाल फेसबुकमा आज भनेका छन्,‘परिक्षणको दायरा बढेसंगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ हजार सम्म र त्यसपछि थप १ हजार जना पुग्न सक्ने अनुमान छ ।’

मुख्यमन्त्री पोख्रेलले अनुमान अनुसार व्यवस्थापनको तयारी भइरहेको जानकारी पनि गराएका छन् ।

एक महिनापछि अहिलेको अवस्थामा क्रमशः सुधारको प्रकृया सुरुहुने अनुमान रहेको पनि मुख्यमन्त्री पोख्रेलको भनाई छ । उनले भनेका छन्,‘केही समय धैर्य गर्दा व्यवस्थापन, परिक्षण र उपचारका साथै वन्दावन्दीको अवस्थामा पनि सुधार ल्याउन सकिने देखिन्छ । जनजीवनलाई सहज बनाउनेगरी तयारी पनि हुँदैछ।’

मुख्यमन्त्री पोख्रेलले समुदायमा संक्रमण नहोस् भनेर गरिएका प्रयासहरु अहिलेसम्म सफल देखिएको उल्लेख गरेका छन् । अहिलेसम्म देखिएका संक्रमितमा ९२ प्रतिशत जति भारतबाट आएका उनको भनाई छ । समुदायमा नफैलिएकाले साउन महिनावाट संक्रमणको वढ्दो दर नियन्त्रणमा आउने आँकलन गरिएको मुख्यमन्त्री पोख्रेलको विश्वास छ ।

उनले भनेका छन्,‘ एउटा हिस्सा व्यवस्थापन कार्यमा संलग्नहरुको छ । थोरैमात्र समुदाय स्तरमा पुगेको अवस्था छ । त्यो पनि कन्ट्रयाक ट्रेसिङको प्रकृयावाट पहिचान गरी अलग गरिने गरिएको छ । हाम्रो प्रदेशमा साउन महिनावाट संक्रमणको बढ्दो दर नियन्त्रणमा आउने आकलन गरिएको छ ।’

भारतबाट नेपाल प्रवेशका मुख्य नाकाहरु धेरै भएको र अन्य प्रदेशबाट आउनेको समेत सुरुका दिनमा व्यवस्थापन गर्नु परेको तथा पछिल्ला दिनमा प्रदेशमा क्वारेन्टाइनमा बस्नेको संख्या समेत अत्यधिक हुनपुग्दा व्यवस्थापनमा केही समस्या भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

उनले त्यसबाट संक्रमितको संख्या पनि केही बढेको अवस्था रहेको भएपनि समुदाय संक्रमित हुनवाट निकैहदसम्म जोगिएको छ र जोगाइएको बताएका छन् ।

उनले भनेका कछन्,‘भारतवाट आउनेहरुमा संक्रमितको संख्या एकैचोटी वढेका कारणले सुरुमा विरामीलाई अस्पतालमा राख्न केही कठिनाइ देखिएको हो । तर पछि आइसोलेसन सेन्टरको अवधारणावाट समस्या समाधान गरिएको छ ।’

संक्रमित थपिने र निकोहुने दर पनि क्रमशः वढ्दै गएको भन्दै मुख्यमन्त्री पोख्रेलले भारतबाट आउनेहरु प्राय युवाभएका कारणले निकोहुने दर अब क्रमशः बढेर जाने बिश्वास गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलले पीसीआर परिक्षणको परिणाम आउन लामो समय लाग्ने गरेको भन्दै परिक्षणको क्षमता र दायरा वढाउने गरी काम अघि बढेको जानकारी गराएका छन् । उनले भनेका छन्,‘त्यसका लागि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा थप मेसिन जडानको प्रकृयामा छ ।

प्रादेशिक प्रयोगशालाको क्षमता विस्तारको प्रकृया सुरुभएको छ । लुम्विनी प्रादेशिक अस्पताल र कपिलवस्तुमा पीसीआर मेसिन सहितको नयाँ प्रयोगशाला स्थापनाको काम अघि बढेको छ ।’ अबको दुईहप्तापछि समयमै परिणाम प्राप्त हुने मुख्यमन्त्री पोख्रेलले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !