१७ बैशाख २०८२, बुधबार

पाणिनि सम्मेलनद्वारा सात बुँदे घोषणापत्र जारी

प्रकाशित मिति :  11 April, 2025 7:17 am



दाङ । संसारलाई व्याकरणको उपहार दिने महर्षि पाणिनिको तपोभूमि अर्घाखाँचीको पाणिनिमा सम्पन्न पाणिनि तपोभूमि सम्मेलनले सात बुँदे घोषणापत्र जारी गर्दै दुई दिने कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार सम्पन्न सम्मेलनले संस्कृत भाषा र पाणिनीय व्याकरणको प्रवर्द्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै संस्कृत भाषा तथा व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समावेश गर्न सरकारसँग आग्रह गरिएको छ।

घोषणापत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्कृत र भाषाविज्ञानका अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि संस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने घोषणा गरिएको छ।

पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सिर्जनाको भूमि भएकोले मानव कल्याणमा प्रभाव पार्न सक्ने अनुसन्धन र सिर्जनाको लागि आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख गरिएको छ।

यस क्षेत्रमा रहेका अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरू-दुर्वासा मुनिको आश्रम, रुरु कन्याको तपस्थल, कालीगण्डकीको सङ्गम, नर्तनाचल पहाड, सुपादेउराली मन्दिर र वाणगङ्गा नदीजस्ता स्थानहरूलाई समेटी पदयात्रा र पाणिनि चक्रपथको सम्भाव्यता अध्ययन गर्नुपर्ने प्रस्ताव पनि घोषणापत्रमा समावेश गरिएको छ।

अर्घाखाँची तथा छिमेकी जिल्लासँग समन्वय गरी पाणिनीय व्याकरणसम्बन्धी पाठ्यपुस्तक तयार गर्ने र पाणिनि क्षेत्रको समग्र विकासका लागि यथाशीघ्र गुरुयोजना निर्माण गरिने निर्णय पनि सम्मेलनद्वारा गरियो ।



प्रतिक्रिया दिनुहोस !