अक्षय तृतीया आज : सातु र सर्वत दान–सेवनको धार्मिक महत्व

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन पर्ने अक्षय तृतीया पर्व आज धार्मिक श्रद्धा र विधिपूर्वक देशभर मनाइँदैछ । सनातन हिन्दू परम्पराअनुसार यस दिन सातु र सर्वत दान तथा सेवन गरी पुण्य कमाइने विश्वास छ ।
धार्मिक विश्वासअनुसार अक्षय तृतीयाको दिन स्नान, दान, जप, ध्यान, पूजा जस्ता कर्मले अक्षय फल प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘अक्षय’ अर्थात् कहिल्यै नाश नहुने फल मिल्ने भएकाले यस दिन गरिने पुण्यकर्मलाई विशेष महत्व दिइन्छ।
शास्त्रअनुसार आज बिहान सबेरै उठेर घर लिपपोत गरी स्नानपश्चात् पूजा तयारी गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी अष्टदल बनाइएको तामाको थालीमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा विधिपूर्वक पूजा गरिन्छ ।
तामाको भाँडोमा वा माटाको गाग्रीमा शुद्ध जल राखी त्यसमै दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइन्छ। यही सर्वत र जौको सातु दान गर्नेलगायत स्वयं पनि सेवन गर्ने परम्परा रहेको छ ।
धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार वैशाख महिनाको गर्मीमा जौको सातु र सर्वत अमृतसरह मानिन्छ ।
‘‘यसले शरीरलाई शीतलता दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ,’’ उनले भने, ‘‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै पुण्य मिल्छ भन्ने मान्यता शास्त्रमा उल्लेख छ। शरीरलाई बलियो बनाएर धर्मसाधन गर्नुपर्छ भन्ने सन्देश पनि यस पर्वमा छ ।’’
यस दिन गरिने घडासहितको जलदानलाई ‘धर्मघटादि दान’ भनिन्छ। आजको दिन असहाय र वृद्धवृद्धालाई छाता, लौरो, जुत्ता, कपडा दान गर्ने र सम्भव भएमा गाई, अन्न, सुन, जमिन जस्ता वस्तु सत्पात्र ब्राह्मण वा विपन्न वर्गलाई दान गर्ने परम्परा समेत छ।
धार्मिक विश्वासअनुसार सत्ययुगमा महादेव र पार्वतीको विवाह पनि आजकै दिन भएको मानिन्छ। त्यसैले विवाह गर्न आजका लागि शुभ मुहूर्त हेर्नु नपर्ने विश्वास छ। त्रेतायुगको आरम्भसमेत आजैको दिनबाट भएको उल्लेख विभिन्न ग्रन्थहरूमा पाइन्छ।
अक्षय तृतीयाको अवसरमा देशका विभिन्न तीर्थस्थल, मठमन्दिर र धर्मस्थलमा बिहानैदेखि भक्तजनको उपस्थिति रहेको छ। गर्मी छल्न र पुण्य कमाउन सातु र सर्वतको महत्व झनै बढेको देखिन्छ।