४ जेष्ठ २०८२, आइतबार

प्रधानमन्त्री ओलीको घोषणा-आँखा स्वास्थ्य अब राष्ट्रिय स्वास्थ्य बीमाको हिस्सा बन्ने

प्रकाशित मिति :  30 April, 2025 12:15 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्य सेवालाई अब राष्ट्रिय स्वास्थ्य बीमामा समावेश गरिने घोषणा गरेका छन् ।

काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दृष्टि गुमाउने जोखिममा रहेका नागरिकका लागि आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य प्रणालीमा समायोजन गरिने स्पष्ट पारे ।

“दिगो विकास लक्ष्य (SDG) अनुसार हामीले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाको मुख्य अङ्गको रूपमा समेट्दैछौं,” प्रधानमन्त्री ओलीले भने, “यसबाट दृष्टि गुमाउने जोखिममा रहेका नागरिकहरूलाई सुलभ पहुँच सुनिश्चित हुनेछ ।”

उनले सन् २०२२ मा नेपालमा सम्पन्न ‘बच्न सकिने अन्धोपन’सम्बन्धी मूल्याङ्कनले राष्ट्रिय प्राथमिकता निर्धारणमा सघाएको भन्दै मोतियाविन्दुको प्रभावकारी शल्यक्रिया कभरेज सन् २०३० सम्ममा ७५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए ।

“३५ देखि ४५ प्रतिशतको अवस्थाबाट हामी अब ७५ प्रतिशतसम्मको लक्ष्यमा अघि बढ्दैछौं,” उनले भने, “तर यो यात्रामा कुनै पनि मुलुक एक्लै पुग्न सक्दैन, त्यसैले हामीले विश्वव्यापी सहकार्यलाई सुदृढ बनाउनु आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको अनिवार्य हिस्साका रूपमा लिइसकिएको बताए । उनले विद्यालय तहबाट दृष्टि परीक्षण र विद्यालय नर्स कार्यक्रमलाई प्राथमिकतामा राखेर शिक्षामा समानता र लैङ्गिक समावेशिता विस्तार गरिरहेको पनि उल्लेख गरे ।

अन्तरराष्ट्रिय सम्मेलनमा नेपालसहित विभिन्न देशका आँखा स्वास्थ्य विशेषज्ञ, नीति निर्माता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्मेलनमा सन् २०३० सम्म दृष्टि गुमाउने अवस्थालाई न्यूनीकरण गर्न साझा रणनीति तय गरिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !