१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनीकाे राजधानी क्षेत्रका युवाहरुकाे पत्रकारितातर्फ आकर्षण बढ्दै

समाजका लागि योगदान दिन पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहेको युवाहरुकाे भनाइ
प्रकाशित मिति :  2 May, 2025 4:28 pm



देउखुरी । “मलाई गाउँको आवाज सञ्चारमाध्यमसम्म पुर्याउनु छ, यही उद्देश्यका साथ पत्रारिता तालिम सिक्न आएकी छु”, यो भनाइ ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा विविएस प्रथम वर्ष अध्ययनरत वविकुमारी चौधरीको हो ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्ने हुटहुटी आफूमा रहेको बताउँदै राप्ती गाउँपालिका वडा नम्बर ७ की वविकुमारीले समाजका लागि योगदान दिन आफू पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहेको बताइन् ।

“म समाजप्रतिको आफ्नो उत्तरदायित्व बहन गर्न चाहन्छु । खासगरी थारु जातिले भोगेका पीडा व्यथालाई सञ्चारमाध्यमसम्म ल्याउने मेरो मुख्य उद्देश्य रहेको छ । मलाई गाउँको आवाज सञ्चारमाध्यमसम्म पुर्याउनु छ, यही उद्देश्यका साथ पत्रकारिता तालिम सिक्न आएकी छु”, उनले भनिन् ।

राप्ती गाउँपालिका वडा नम्बर ४ की जानका गोराथोकी पनि पत्रकारितातर्फ आकर्षित छिन् । समाज परिवर्तनको सशक्त माध्यम पत्रकारिता भएको भन्दै उनले आफू समाज रुपान्तरणमा योगदान दिन पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहेको बताइन् ।

“वन, सहकारीजस्ता सामाजिक संस्थासँग जोडिएर काम गरेँ । पहिलेदेखि नै पत्रकारिता मेरो रुचिको विषय थियो । इच्छा हुँदा हुँदै पनि अवसर जुरेको थिएन”, उनले भनिन्, “पत्रकारिता तालिम हुन थालेको जानकारी पाएपछि केही तालिममा सहभागी भएकी छु । अब पत्रकारितामा केही गरौँ भन्ने भावनाको विकास भएको छ ।”

जानका र वविकुमारीजस्तै राप्ती गाउँपालिका वडानम्वर ४ का नारायणप्रसाद खनाल पनि पत्रकारिता सिक्न थालेका छन् । ५८ वर्षिय उनी आफ्नो दैनिक जीवनमा आई पर्ने विभिन्न खालका जटिलताहरुलाई सहज बनाउन केही सिकिन्छ कि भनेर तालिममा आएको बताउँछन् । सिकेर कहिल्यै नसकिने भन्दै उनले नयाँ विषयको जानकारी दिन तालिममा आएको प्रतिक्रिया दिए ।

यी त उदाहरणीय पात्र मात्र हुन् । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा पत्रकारिता सिक्नेहरु बढ्दै गएका छन् । यहाँका क्याम्पसहरूमा पत्रकारिता पढाइ नभइरहेको र सञ्चारमाध्यमको तीब्र विकास नभइरहेको सन्दर्भमा स्थानीय मुद्दाको आवाज बन्ने चाहनाले युवाहरुमा पत्रकारिताप्रति मोह अझै बढाएको छ ।

केही दशकअगाडिसम्म पत्रकारिता ठूला शहरको कुरा जस्तो लाग्थ्यो तर आज दाङको देउखुरी क्षेत्रमै पत्रकारितातर्फको आकर्षण बढ्दो छ । “घोराही, तुलसीपुर, लमहीका मुद्दा धेरै सुनिन्छन् तर यहाँ भएको विकास, समस्या, महिला हिंसा, सडक अवस्था वा शिक्षा प्रणालीबारे लेख्ने कोही चाहिएको थियो । त्यसैले पत्रकारिता सिक्न आएको छु”, राप्ती २ का यज्ञबहादुर बिश्वकर्माले भने ।

देउखुरी क्षेत्र पत्रकारिताका लागि अवसरको क्षेत्र भएको पत्रकारिता महासंघ दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी बताउँछन् । “देउखुरीका युवामा देखिएको पत्रकारिताप्रतिको आकर्षण आशालाग्दो छ । यो केवल पेशा होइन, सामाजिक उत्तरदायित्व हो भन्ने बुझाइ विस्तार भएको छ”, केसीले भने ।

राजधानी क्षेत्रमा पत्रकारिताको विकास गर्ने उद्देश्यले प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको पत्रकारिता तालिममा सहभागी युवाहरु उत्साहित छन् । उनीहरु पत्रकारिता सिक्न लालायित भइरहेका छन् ।

यहाँका युवाहरु अब समाचारका स्रोत मात्र होइन, निर्मातासमेत बन्दै गएका छन् । पत्रकारितामा उनीहरूको बढ्दो आकर्षण न केवल व्यक्तिगत पहिचानको खोज हो, यो सामूहिक परिवर्तनको संकेत पनि हो । राज्य, मिडिया संस्था र शैक्षिक निकायले उनीहरूको आकांक्षालाई साथ दिएमा देउखुरी नेपाली पत्रकारिताको भविष्य निर्माण गर्ने थलो बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !