लुम्बिनीबाट विश्वशान्तिको सन्देश : शान्ति सम्मेलन सम्पन्न, वृक्षारोपण र धर्म संवाद
दाङ । बुद्धजन्मस्थल लुम्बिनीमा सोमवार ‘नेपाल शान्ति सम्मेलन’ सम्पन्न भएको छ । भियतनामी वरिष्ठ बौद्धगुरु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा आयोजना गरिएको उक्त सम्मेलनले विश्वलाई शान्तिको सन्देश दिनुका साथै धर्म–संवाद, दया, करुणा र मेलमिलापको महत्वलाई औंल्याएको छ।
थाई ह्यून डिउ पिस फाउण्डेशनको संयोजनमा आयोजित सम्मेलनमा बौद्ध, हिन्दू, मुस्लिम र क्रिश्चियन धर्म प्रतिनिधिहरूबीच शान्तिका विविध आयाममा छलफल भयो ।
सम्मेलनमा सहभागी सबै धर्मका प्रतिनिधिहरूले द्वन्द्व, हिंसा र घृणाको अन्त्य गर्दै करुणा र सहिष्णुता नै शान्तिको मार्ग भएकोमा सहमति जनाए ।
लुम्बिनी : शान्तिको आधारभूमि
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले लुम्बिनीलाई शान्तिको विश्वव्यापी सन्देशको केन्द्रबिन्दु बनाउने प्रयासस्वरूप सम्मेलन आयोजना गरिएको बताउँदै डा. लामको शान्ति–अभियानको खुलेर प्रशंसा गरिन् । पूर्वमन्त्री दीपकुमार उपाध्यायले लुम्बिनीलाई विश्वशान्तिको गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रयास महत्वपूर्ण रहेको बताए ।
भिक्षु डा. लामले आफू कुनै राजनीतिक व्यक्ति नभएको स्पष्ट पार्दै सन् २००४ को लुम्बिनी शिखर सम्मेलनताका नेपालमा चलिरहेको द्वन्द्व र त्यसपछि भएको शान्ति प्रक्रियालाई विश्वका लागि उदाहरणीय मोडेलका रूपमा चित्रण गरे । उनले हिंसा र हतियारले होइन, बौद्ध दर्शनले देखाएको करुणा र सहिष्णुताबाटै विश्वमा शान्ति सम्भव हुने तर्क प्रस्तुत गरे।
१८ हजार बिरुवाको वृक्षारोपण संकल्प
सम्मेलनकै अवसरमा लुम्बिनी क्षेत्रमा १८ हजार बिरुवा रोप्ने संकल्पसहित समझदारी पत्रमा हस्ताक्षर भएको छ। पिस फाउण्डेशन, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, डिभिजन वन कार्यालय र ग्रिन युथ लुम्बिनीबीच भएको उक्त सम्झौता अनुसार वृक्षारोपण अभियान सोमबारबाट सुरु गरिएको छ।
सम्मेलनमा नेपाल, भारत र भियतनामका सांस्कृतिक संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा जापानी बौद्ध गुरु जुनसेई तेरासावा, क्रिश्चियन धर्मगुरु रेभ. जिसे के. महाराणा, हिन्दू धर्मका पण्डित मनोज मिश्र तथा अमेरिकाबाट डिभाइन मदर आयुदे कितागावाको सन्देश पनि प्रस्तुत गरियो ।
पिस फाउण्डेशनका केनेथ डाओका अनुसार सम्मेलन सन् २०२५ मे ५ तारिख, बिहान ५ बजेर ५ सेकेन्डमा आरम्भ गरिएको थियो, जसलाई ‘पाँचको पवित्र संयोग’ भनिएको छ। यही मे २५ मा जर्मनीमा पनि शान्ति सम्मेलन गरिने र आगामी वर्ष लुम्बिनीमा अझ बृहत् सम्मेलन गरिने जानकारी गराइयो।
लुम्बिनीको पवित्र भूमिमा आयोजित यस शान्ति सम्मेलनले केवल बौद्ध दर्शनको प्रचार मात्र होइन, बहुसांस्कृतिक संवाद, पर्यावरणीय जिम्मेवारी र वैश्विक सहअस्तित्वको सन्देश एकैसाथ प्रवाह गरेको छ । विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रका लागि लुम्बिनीको बाटो अब शान्तिको नक्सा बन्ने संकेत यस सम्मेलनले दिएको छ।








