१९ मंसिर २०८२, शुक्रबार

लगातारकाे वर्षाका कारण दाउन्ने खण्डमा सडक अवरुद्ध

प्रकाशित मिति :  6 May, 2025 12:27 pm


दाङ । नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि निर्माणाधीन चारलेन सडक चिप्लो भएर हिलो जम्दा सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र पैँसट्ठी मोड क्षेत्रमा सडक सतह हिलोमय बनेपछि ट्राफिक प्रहरी कार्यालय नवलपुरले सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले पानी रोकिएपछि डोजरमार्फत हिलो हटाइ गन्तव्यतर्फ सवारी पठाउने तयारी भइरहेको जानकारी दिए ।

रातिको समयमा दैनिक ६ घण्टा बन्द गरेर सडक विस्तारको काम भइरहेको यस खण्डमा सामान्य पानी परे पनि सडक पूर्णरूपमा बन्द हुने समस्या नियमितजसो देखिएको छ ।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका अनुसार आगामी असार महिनासम्ममा दाउन्ने खण्डको मुख्य काम सम्पन्न गर्ने लक्षका साथ काम भइरहेको छ।

तर हाल निर्माणस्थलमा आवश्यक व्यवस्थापन नहुँदा दैनिकजसो अवरुद्ध हुने क्रम बढेपछि यात्रुहरूले गन्तव्यमा पुग्न घण्टौंसम्म पर्खनुपर्ने अवस्था आएको छ। यात्रुहरू सास्तीमा परिरहेकाले प्रभावित क्षेत्रको तत्काल सुधार तथा वैकल्पिक व्यवस्थाको मागसमेत बढ्न थालेको छ।



प्रतिक्रिया दिनुहोस !