१९ मंसिर २०८२, शुक्रबार

नेपालमा जनशक्ति छैन भनेर भन्नु उचित होइन-स्वास्थ्य मन्त्री पौडेल

प्रकाशित मिति :  6 May, 2025 4:38 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि जनशक्ति टिकाउन कठिन भएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले काठमाडौँ उपत्यकाभित्र पर्याप्त जनशक्ति रहे पनि उपत्यकाबाहिरको अवस्था निकै कमजोर रहेको उल्लेख गरे ।

“संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्र चिकित्सक हुनुको कारण जनशक्ति नभएर होइन, उनीहरू टिक्न नसक्नु हो,” मन्त्री पौडेलले भने, “जनशक्ति उत्पादन त भइरहेकै छ, अब त्यो जनशक्ति काठमाडौं बाहिर टिकाेर सेवा दिन सक्ने वातावरण बनाउनु सबैभन्दा आवश्यक छ ।”

उनले जनशक्ति उत्पादन प्रक्रिया सहज, कम खर्चिलो, र राज्यको लगानीमा आधारित हुनुपर्ने आवश्यकता औंल्याउँदै, त्यसरी उत्पादित जनशक्तिलाई देशमै टिकाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

“स्वास्थ्य क्षेत्रमा प्राथमिकता तय नगरी सानो बजेटले काम चल्दैन,” मन्त्री पौडेलले भने, “राज्यले सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरिसकेको छ, साथै प्रत्यारोपण सेवा पनि विस्तार भइरहेको छ। यस्ता सेवा स्थायित्वका लागि दीर्घकालीन योजना र प्रभावकारी जनशक्ति व्यवस्थापन अपरिहार्य छ ।”

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता पनि औंल्याए । हाल चार प्रतिशतको लगानीमा मात्र राज्यको स्वास्थ्य दायित्व पूरा गर्न खोज्दा चुनौती थपिएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अन्य विज्ञ तथा अधिकारीहरूले पनि काठमाडौं केन्द्रित जनशक्ति व्यवस्थापनलाई विकेन्द्रीकरण गर्ने नीतिगत पहल जरुरी रहेको धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !