चिकित्सक विदेशिने क्रम चिन्ताको विषय-राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकहरू विदेशिने क्रम बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन थालेको अनुभव आफ्नै व्यक्तिगत जीवनबाट लिएको उल्लेख गर्दै पनि सम्पूर्ण स्वास्थ्यकर्मीले देशमै पर्याप्त अवसर नपाएको गुनासो बढेको बताए ।
उनले भने, “स्वास्थ्य सेवामा सुधार हुँदै गइरहेको भए पनि दक्ष जनशक्तिलाई यथोचित अवसर नपुगेको अवस्था छ, र यसको परिणामस्वरूप चिकित्सकहरू विदेशिन थालेका छन्, जुन चिन्ताको विषय हो ।”
राष्ट्रपति पौडेलले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूति संविधानले नै सुनिश्चित गरिसकेको हुँदा संवद्ध निकाय र सरकारको ध्यान नागरिकको स्वास्थ्यमा समान पहुँच र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
“राष्ट्रले चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले देशमै दक्ष चिकित्सकलाई रोक्न आवश्यक नीति तथा वातावरण निर्माण गर्नु अत्यावश्यक छ,” राष्ट्रपति पौडेलले स्पष्ट पारे ।
कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा देशको स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक सुधार भएको पनि बताए । नेपालमै दक्ष र विज्ञ चिकित्सक उत्पादन हुन थालेको कुरा सन्तोषको विषय भएको भन्दै, उनले उनीहरूलाई देशमै आकर्षित गर्ने दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उक्त अवसरमा न्याम्सका पदाधिकारीहरूले पनि स्वास्थ्य क्षेत्रमा भएका सुधार र आगामी योजनाबारे जानकारी दिएका थिए।