वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत आज, दुःख र पापमोचनका लागि व्रत गरिँदै
काठमाडौँ । आज वैशाख शुक्ल एकादशी, मोहिनी एकादशीको अवसरमा देशभर व्रत, पूजा र उपासना गरिँदैछ। प्रत्येक वर्ष वैशाख महिनाको शुक्ल पक्षको एकादशी तिथिमा पर्ने यस दिन विशेष व्रत बस्नाले दुःख, पाप र मोहबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।
धार्मिक ग्रन्थहरूमा मोहिनी एकादशीको महत्व विशेष रूपमा वर्णन गरिएको पाइन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यो एकादशीको महिमा स्वयं भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको महाभारत र अन्य पुराणहरूमा उल्लेख छ।
त्रेतायुगका राजा रामचन्द्रले पनि सीता वियोगका बेला आत्मिक पीडा र दुःखको नाशका लागि गुरु वशिष्ठसँग मोहिनी एकादशीको बारेमा जिज्ञासा राखेको कथा रामायणमा उल्लेख गरिएको छ ।
वशिष्ठले सरस्वती नदीको किनारमा रहेको सुमना भद्रावती नगरका राजाका कान्छा छोराको जीवनसँग जोडिएको कथा सुनाउँदै एकादशीको महत्व व्याख्या गरेको शास्त्रमा वर्णन पाइन्छ ।
आजको दिन भक्तजनहरूले उपवास गरी विष्णु भगवानको पूजा–आराधना गर्दै व्रत बसेका छन्। मन्दिरहरूमा श्रद्धालुहरूको भीड देखिएको छ भने कतिपयले घरमै एकादशी व्रतको विधिपूर्वक पालन गर्दै छन्।
शास्त्रीय मान्यताअनुसार, मोहिनी एकादशीको व्रतले मानिसलाई दुःख, मोहजाल र सांसारिक पापहरूबाट मुक्त गराइ आध्यात्मिक शुद्धिको मार्गमा अग्रसर गराउँछ। विशेषगरी व्रत, ध्यान र सत्य व्यवहारको माध्यमबाट धर्मलाभ प्राप्त गर्ने उद्देश्यले आजको दिन धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ।
मोहिनी एकादशीलाई विष्णु भगवान्को मोहिनी रूपसँग पनि जोडिन्छ, जसले असुरहरूलाई मोहमा पारी देवताहरूलाई अमृत प्रदान गरेकी थिइन्। त्यसैले पनि यस दिनको नाम ‘मोहिनी एकादशी’ रहन गएको धार्मिक मान्यता छ । आज देशभरका वैष्णव, भक्त, पण्डित र श्रद्धालुजनले गहिरो श्रद्धा र भक्तिसहित यो पावन एकादशीको व्रत गरिरहेका छन् ।








