१९ मंसिर २०८२, शुक्रबार

‘मानवतालाई जीवित राखौँ’ नारासहित विश्व रेडक्रस दिवस मनाइँदै

प्रकाशित मिति :  8 May, 2025 8:44 am


काठमाडौँ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्वभर विश्व रेडक्रस दिवस विविध कार्यक्रममार्फत मनाइँदैछ। प्राकृतिक प्रकोप, युद्ध, महामारी, स्वास्थ्य संकट लगायतका विपत्तिमा अग्रपङ्क्तिमा रहेर सेवामा खटिने रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूको योगदानको सम्मानमा यो दिवस हरेक वर्ष मे ८ तारिखमा मनाइन्छ।

यो दिन रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्ती पनि हो । १८२८ मे ८ मा जन्मिएका ड्युनाले सन् १८६३ मा रेडक्रसको अन्तरराष्ट्रिय समिति (ICRC) स्थापना गरेपछि उनले युद्धग्रस्त क्षेत्रहरूमा मानवीय सेवा विस्तारको ऐतिहासिक कार्य प्रारम्भ गरेका थिए। उनी शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति समेत हुन् ।

आजको दिन रेडक्रस तथा रेडक्रिसेन्ट संस्थाहरूले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, सेवा, एकता र विश्वव्यापकता भन्ने सात सिद्धान्तको स्मरण गर्दै विश्वभर जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

नेपाल रेडक्रस समाजसहित विश्वका अन्य १९० भन्दा बढी मुलुकहरूमा रेडक्रस संगठनले युद्ध, विपद्, महामारी तथा आपत्कालीन अवस्थामा राहत, स्वास्थ्य सेवा, रक्तदान तथा विभिन्न सामाजिक सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

बढ्दो द्वन्द्व, असमानता र स्वास्थ्य संकटको वर्तमान विश्वमा मानवीय मूल्य र आदर्शलाई कायम राख्न चुनौतीपूर्ण भइरहेको सन्दर्भमा आजको दिवसले दया, सहानुभूति र आशाको सन्देश फैलाउने अवसर दिने विश्वास रेडक्रसमा संलग्न स्वयंसेवीहरूले व्यक्त गरेका छन् ।

रेडक्रस दिवसको अवसरमा आज नेपाललगायत विभिन्न मुलुकमा रक्तदान, स्वास्थ्य शिविर, जनचेतनामूलक र्याली, दीर्घसेवा पुरस्कार वितरणजस्ता विविध कार्यक्रम आयोजना गरिँदै छन् ।

विपद् व्यवस्थापनदेखि लिएर समाजमा मानवीय समर्पणको उदाहरण प्रस्तुत गर्नेसम्मका सेवामा रेडक्रसको भूमिकालाई आजको दिनले अझ स्मरणीय बनाउने उद्देश्य लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !