४ जेष्ठ २०८२, आइतबार

उडानको प्रतीक्षा : सुनसान गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको थिचिएको सपना

“हाम्रो सपना थियो-अन्तर्राष्ट्रिय विमान नियमित ओर्लनेछन्, लुम्बिनी सिधा विश्वसँग जोडिनेछ तर अहिले यहाँ जहाज होइन, सन्नाटा ओर्लिएको छ
प्रकाशित मिति :  8 May, 2025 2:12 pm


दाङ । गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा व्यवसायीहरु निरास भएका छन् । एकपछि अर्काे उडान थपिदा उत्साहित व्यवसायीहरु एकाएक उडान राेकिदा हुँदा निरास छन्, अर्बाैँकाे लगानी डुब्नेमा चिन्तित छन् र उडान नियमित गर्न सरकारसँग हारगुहार गरिरहेका छन् ।

व्यवसायीकाे आवाज कतै सुनिएकाे छैन । “हाम्रो सपना थियो-अन्तर्राष्ट्रिय विमान भैरहवामा नियमित ओर्लनेछन्, बुद्ध जन्मस्थल लुम्बिनी सिधा विश्वसँग जोडिनेछ तर अहिले यहाँ जहाज होइन, सन्नाटा ओर्लिएको छ”, भैरहवाका एक होटल व्यवसायीले भने । जुन वाक्यले भैरहवा विमानस्थलको वर्तमान अवस्था मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशको विकास यात्रामा देखिएको ‘आकाशे भ्रम’ को प्रतिनिधित्व गर्दछ ।

विमानस्थल होइन, प्रतीक्षास्थल


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल-नेपालको गौरवमयी आयोजनामध्ये एक । बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकहरूसँग सिधा जोड्ने अभिप्रायले निर्माण गरिएको यो विमानस्थलले अन्तर्राष्ट्रिय उडानको नियमितता भन्दा बढी अनियमितता सहेकै छ।

अप्रिल १ अर्थात् चैत १९ गतेदेखि हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका पेस गरेका छैनन्, जसकारण फेरि एकपटक भैरहवाकाे आकाशमा अन्तर्राष्ट्रिय बिमान देखिएका छैनन् ।

पहिले जजिरा एयरवेज, थाइ एयर एसिया, फ्लाइ दुबईजस्ता कम्पनीहरूले नियमित उडान गरिरहेका थिए । हरेक हप्ता २४ वटा अन्तर्राष्ट्रिय उडान भर्ने बिमानस्थल अहिले सुनसान गुल्जार बनेकाे छ । बिमानस्थलसँग “अन्तर्राष्ट्रिय” भन्ने नाम मात्रै बाँकी छ-उडान छैन।

लगानी डुब्ने चिन्तामा व्यवसायी

विमानस्थलको आशामा लुम्बिनी प्रदेशका निजी क्षेत्रले लगभग ५० अर्बभन्दा बढी लगानी गरेका छन् । होटल, ट्राभल एजेन्सी, यातायात सेवा, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रले ‘अन्तर्राष्ट्रिय गेटवे’ को कल्पनामा भविष्य देखेका थिए तर उडान नहुँदा ती सबै लगानी अनिश्चितताको खाडलमा फसेका छन् ।

एक व्यवसायी भन्छन्, “सरकारले ठूलो कुरा गर्‍यो, हामीले पनि भरोसा गर्‍यौं । अब हामी ग्राहक होइन, घाटा गन्दै छौं ।” उडान नियमित हुँदा भरिभराउ हुने हाम्रा हाेटेलहरु सुनसान भएका छन् ।

सरकारको आश्वासन र अदृश्य बाधा
नेपाल सरकारले विमानस्थल सुचारु गर्न विभिन्न सहुलियतको घोषणा गरेको छ । ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७४% छुट, हवाई इन्धनमा $100 प्रति किलोलिटर सहुलियतकाे घाेषणा गरेकाे छ तर यति धेरै सुविधा दिँदा पनि, उडान छैन । त्यसैले लुम्बिनीका व्यवसायीहरूको प्रश्न छ-“कुन अदृश्य शक्तिले विमानस्थलको आकाश रोकेको हो ?”

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र घरेलु उद्योग महासंघले संयुक्त वक्तव्य जारी गरी सरकारलाई प्रश्न गरेका छन्, “सरकारले देखाएको उत्साह व्यवहारमा किन देखिँदैन ?”

सदनमा फेरि उठ्याे उडान सञ्चालनकाे विषय
प्रतिनिधिसभाकाे बैठकमा सांसद भीमप्रसाद आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा नियमित उडानका लागि सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

बिहीबारकाे बैठकमा बाेल्दै उनले भने, “सरकारको ध्यान तत्काल भैरहवातिर मोडिनुपर्छ। त्यहाँ म्यानपावर कम्पनी, भिसा सहजीकरण कार्यालय, स्वास्थ्य परीक्षण केन्द्रजस्ता अत्यावश्यक संरचनाहरू नहुनु दुःखद् छ ।”

उनको तर्क छ-यदि यी आधारभूत संरचना नबन्दा व्यवसायीहरूले आन्दोलन गर्नुपरेको छ भने, त्यो विकास होइन, विफलताको लक्षण हो ।

भैरहवाबाट केही किलोमिटरको दूरीमा रहेको तिलौराकोट-जहाँ राजकुमार सिद्धार्थले ऐश्वर्य छोडेर बुद्धत्वको यात्रामा निस्किएका थिए-आज पनि अविकसित र ओझेलमा छ।

वार्षिक १.५ लाख पर्यटक आउने अनुमान हुँदाहुँदै पनि वातावरण, संरचना, यातायात सबै न्यून स्तरमै छन् । आचार्य भन्छन्, “तिलौराकोटको संरक्षणका लागि थप जग्गा अधिग्रहणको आवश्यकता छ । संस्कृति र पर्यटनलाई आधार बनाउने हो भने यहाँबाटै थाल्नुपर्छ ।”

के विमानस्थल मात्रै पर्याप्त हो ?
अन्तर्राष्ट्रिय विमानस्थलको अर्थ जहाज ओर्लिने मात्र होइन, यात्रुका गन्तव्य पुग्ने पूर्वाधार तयार गर्नु पनि हो। बिना गन्तव्य, विमानस्थल मात्र ‘प्लेन्सेसन्टर’ बन्न सक्छ, ‘गेटवे’ होइन । यही सत्य भैरहवा विमानस्थलको सन्दर्भमा लागू हुन्छ। आज संरचना छ, सुविधा छ तर प्रयोग छैन ।

भैरहवाको आकाशमा जहाजभन्दा पहिले राजनीतिक इच्छाशक्ति, नीति–निर्णयको स्पष्टता, र समन्वयको गहिरो उडान आवश्यक छ । “हामीलाई विमान होइन, विश्वास चाहिएको हो” भन्ने व्यवसायीको आवाज अब सुन्ने बेला भएको छ।



प्रतिक्रिया दिनुहोस !