१९ बैशाख २०८३, शनिबार

ट्राफिक सचेतना, ओभरलोड नियन्त्रण र पार्किङ व्यवस्था गर्न व्यवसायीको जोड

प्रकाशित मिति :  2 May, 2026 12:00 pm


काठमाडौं । बुटवलमा लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा आयोजना गरिएको छ।

कार्यक्रममा संघका अध्यक्ष सुमन सापकोटाले आर्थिक वर्ष २०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ढुवानी व्यवसायलाई सुरक्षित, व्यवस्थित र व्यवसायीमैत्री बनाउने दिशामा संघ सक्रिय रहेको बताएका छन्।

साधारण सभामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र विक्रम बाँनिया प्रमुख अतिथिका रूपमा सहभागी छन् भने पूर्व अध्यक्ष अर्जुन रानाभाटलगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता देखिएको छ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले संघ स्थापना भएदेखि साना तथा मझौला ढुवानी व्यवसायीको हकहित संरक्षण, दुर्घटना न्यूनीकरण, चालक प्रशिक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिए।

उनले महामारी तथा प्राकृतिक विपद्का समयमा समेत अत्यावश्यक सामग्री ढुवानीमार्फत संघले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

गत वर्षको कार्यसम्पादनबारे जानकारी दिँदै उनले दुर्घटना व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको, बीमा समन्वयलाई प्रभावकारी बनाइएको तथा पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रणालीलाई सुदृढ गरिएको बताए। साथै, डिजिटल माध्यममार्फत सूचना प्रवाह र सदस्यबीच समन्वयलाई तीव्र बनाइएको पनि उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले ढुवानी क्षेत्रमा देखिएका चुनौती समाधानका लागि व्यवसायी र राज्यबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

“दुर्घटना न्यूनीकरणका लागि चालक अनुशासन, सवारीको नियमित जाँच र ट्राफिक नियमको कडाइ अत्यावश्यक छ,” उनले भने।

उनले ओभरलोडको समस्या अझै पनि गम्भीर रहेको उल्लेख गर्दै यसले दुर्घटनाको जोखिम बढाउने र सडक संरचनामा क्षति पुर्‍याउने बताए। “ओभरलोड नियन्त्रणमा सरकार कडाइका साथ लागिरहेको छ, व्यवसायीले पनि नियमभित्र रहेर सञ्चालन गर्नुपर्छ,” उनले स्पष्ट पारे।

पार्किङ व्यवस्थापनको अभाव ढुवानी क्षेत्रको प्रमुख समस्या भएको उल्लेख गर्दै बाँनियाले देशभर व्यवस्थित पार्किङ स्थल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। “दीर्घकालीन पार्किङ व्यवस्थापन बिना यातायात क्षेत्र व्यवस्थित हुन सक्दैन,” उनले भने।

दुर्घटनासम्बन्धी व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले पीडितको उपचार र क्षतिपूर्ति व्यवस्थालाई अझ प्रभावकारी बनाउनेतर्फ महासंघले काम गरिरहेको जानकारी दिए। साथै, दुर्घटना उपचार कोषलाई थप सुदृढ बनाइने उनले बताए।

साधारण सभामा संघले आगामी योजनाअन्तर्गत पार्किङ व्यवस्थापनका लागि विभिन्न पालिकासँग समन्वय गर्ने, सदस्यता विस्तार गर्ने, कर तथा बिलबिजकसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा विभिन्न जिल्लामा सम्पर्क कार्यालय विस्तार गर्ने योजना प्रस्तुत गरेको छ।

कार्यक्रममा प्रतिवेदनमाथि छलफल भइरहेको छ भने सहभागीहरूले ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन नीतिगत सुधार, पूर्वाधार विकास र स्थानीय तहसँग समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।



प्रतिक्रिया दिनुहोस !