४ जेष्ठ २०८२, आइतबार

‘निरोगी नेपाल’ प्रधानमन्त्री ओलीको स्वास्थ्य महासंकल्प

प्रकाशित मिति :  8 May, 2025 2:35 pm


काठमाडौँ । “नेपालमा कोही पनि रोगी नहोस्, बिरामी नहोस्-यो हाम्रो राष्ट्रिय आकांक्षा हो । निरोगी नेपाल भनेको स्वास्थ्य क्षेत्रमा हाम्रो महासंकल्प हो”, प्रधानमन्त्री केपी शर्मा ओलीको यो उद्घोषले बिहीवार काठमाडौंमा सम्पन्न कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चलाई राष्ट्रिय स्वास्थ्य दृष्टिकोणको घोषणास्थलमा रूपान्तरण गरिदियो ।

प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन सत्रमा निरोगी नेपाल अभियानलाई सरकारको दीर्घकालीन दृष्टि र प्रतिबद्धताको अभिव्यक्ति रूपमा प्रस्तुत गर्दै भने, “हामी सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेका छौँ। यसका लागि रोग लाग्ने अवस्थाहरू आउनै नपाओस् भन्ने पूर्वतयारी गर्न जरुरी छ ।”

रोग निवारण होइन, रोग नलाग्ने वातावरण बनाउने लक्ष्य
प्रधानमन्त्री ओलीको मन्तव्यमा रोग निको पार्नेभन्दा पनि रोग नै नलाग्ने वातावरण सिर्जनामा केन्द्रित स्वास्थ्य नीतिको पक्षपोषण झल्किन्थ्यो । उनले सन्तुलित खानपान, स्वस्थ जीवनशैली, र प्रतिरोधात्मक क्षमताको सुदृढीकरणलाई स्वास्थ्य नीति निर्माणको केन्द्रमा राख्नुपर्ने धारणा राखे ।

“पेट भर्नु मात्र पर्याप्त छैन, स्वास्थ्यका लागि उपयोगी, लाभदायी खाना हुनुपर्छ । इम्युन सिस्टम नै कमजोर नहोस् भन्ने हाम्रो प्रयास हुनुपर्छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले आयुर्वेदिक चिकित्सा प्रणालीलाई पुनर्जीवन दिन आवश्यक रहेको औँल्याउँदै भने, “रोग लाग्छ भने त्यो रोग निको पार्ने उपाय पनि प्रकृतिमै निहित हुन्छ। औषधि पनि खानामै हुन्छ। हामीले अनुसन्धान गर्नुपर्छ-कुन चिजले रोग लाग्छ र कुनले त्यसको उपचार हुन्छ ।”

उनले पछिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारको अभ्यास घट्दै गएकोमा गुनासो गर्दै परम्परागत चिकित्सा विज्ञानको पुनर्विकासमा अनुसन्धान र नीति निर्माणको आवश्यकता उल्लेख गरे ।

कुष्ठरोग लुकाउनु होइन, उपचार गर्नु हो
प्रधानमन्त्रीले सम्मेलनकै प्रसङ्गमा कुष्ठरोगलाई समयमै पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिए । “कुष्ठरोग लुकाउनु हुँदैन। यसको उचित उपचार छ, र समयमै उपचार गरियो भने निको हुन्छ”, उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले निरोगी नेपाललाई केवल सरकारी अभियान होइन, सम्पूर्ण जनताको साझा सपना र सामूहिक जिम्मेवारीको रूपमा प्रस्तुत गरे । उनले भने, “हामी कुनै ठूलो सपना देखिरहेका छैनौँ । हामी जीवनलाई रोगरहित बनाउने मूलभूत काम गरिरहेका छौँ । हाम्रो लक्ष्य नेपालमा कोही पनि रोगी नहोस्, बिरामी नहोस् भन्ने हो ।”

प्रधानमन्त्रीको मन्तव्यले स्पष्ट रूपमा देखाउँछ-स्वास्थ्य नीतिलाई उपचारमुखी बाट दीर्घकालीन रोकथाममुखी प्रणालीमा रूपान्तरण गर्दै सरकार समग्र समाजलाई स्वस्थ, सचेत र सशक्त बनाउने दिशामा अग्रसर छ । ‘निरोगी नेपाल’ अब नारा होइन, नेपाल सरकारको नीति–दृष्टि, संकल्प र विकासको मेरुदण्ड बन्ने छ ।



प्रतिक्रिया दिनुहोस !