४ जेष्ठ २०८२, आइतबार

घोराहीको रातो सौन्दर्य : गुलमोहरमुनि ‘सेल्फी संसार’

जिल्ला समन्वय समिति परिसरमा फुलेको गुलमोहरले रोजगारीदेखि रमाइलोसम्मको रंग छरेको छ
प्रकाशित मिति :  8 May, 2025 3:36 pm


दाङ । “हेर्नुहोस् त ! रातै रातो, झट्ट आँखा पर्नासाथ मोबाइल आफै फोटो खिच्न मन लाग्छ…”, घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समिति परिसरमा गुलमोहरको छाँयामा बसेर टिकटक बनाउँदै गरेकी एक युवतीले यति मात्र भनिन् ।

सामान्यतया सडक छेउछाउ फुल्ने बोटहरू उपेक्षित हुन्छन् तर गुलमोहर भने अपवाद सावित भएको छ । अहिले घोराहीमा यो फूल मात्र होइन, दृश्यको नायक बनेको छ ।

थामिनसक्नुको भीड


जिल्ला समन्वय समिति परिसरभित्र फुलेको गुलमोहरको रापिलो रङले प्रत्येक दिन ५०० भन्दा बढी मानिसलाई आकर्षित गरिरहेको छ ।

फोटो खिच्ने, सेल्फी लिने, टिकटक बनाउने, रिल्स बनाउने युवायुवतीको लहरले सडकभर थामिनसक्नुको भिड देखिन्छ ।

कोही आफ्ना बालबालिकासँग तस्बिर लिँदै छन्, कोही प्रेमिल जोडीले भिडियो बनाउँदै, अनि कतै फोटोग्राफरहरूले ग्राहक पर्खिरहेका छन् ।

यहाँ फोटो खिच्ने र भिडियो बनाउनेको भिड लोभ लाग्दो देखिन्छ । हरेक उमेर समूहसँगै सबै पेशा व्यवसायका मान्छेहरुको रोजाइ बनेको छ–गुलमोहर ।

“यहाँको रहरलाग्दो भिडले लोभ्यायो र हामी पनि तस्बिर लिँदै छौं”, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले भने, “अरु बेला खाली खाली देखिने यो सडक बैशाख सुरु भएसँगै थमिनसक्नुको भिडले भरिएको छ । यसले घोराहीको पहिचान बदलेको छ । यो क्षेत्रको प्रचार प्रसारका लागि हामीले पनि फोटो भिडियो लिने गरेका छौं ।”

सौन्दर्यले जन्माएको रोजगारी

यति ठूलो भीड देखेपछि स्थानीय केही युवाहरूले यसलाई आम्दानीको स्रोत बनाएका छन् ।

कसैले मोबाइल र क्यामेरा लिएर फोटोशुट सेवा दिन थालेका छन्, कसैले सामाजिक सञ्जालका लागि रील्स तयार पारिदिने गरेका छन् । एक स्थानीय युवा फोटोग्राफर भन्छन्, “केही वर्ष अघि यही ठाउँ सुनसान थियो । अहिले दिनको १५–२० जनाले फोटो खिचाउँछन् । एउटा फोटोशुटका लागि सयदेखि दुई सयसम्म तिर्छन् । यही गुलमोहरले मलाई रोजगारी दिएको छ ।”

सामाजिक सञ्जालमा ’घोराही गुलमोहर’ ट्रेन्डिङ
फेसबुक, टिकटक, इन्स्टाग्रामभरि #GulmoharGhorahi वा #RedTreeMoment जस्ता ह्यासट्यागमा थुप्रै भिडियो र फोटो देख्न सकिन्छ । केही टिकटक बनाउनेहरू त लाखौं भ्यूज पाउँदा चकित छन् ।

घोराहीकै अर्की युवती सविना थापा भन्छिन्, “यो ठाउँ नजिकै बस्छु । साथीहरूसँग बेला–बेला आउँछु । गुलमोहरका पातहरू खसेर बनाएको रातो कार्पेटजस्तै देखिन्छ, भिडियो बनाउँदा फिल्मी दृश्य झैँ लाग्छ ।”

स्थानीय सरकारको ध्यान खिचिँदै
भीड बढ्दै गएपछि स्थानीय सरकार पनि सुव्यवस्था र व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । परिसरमा फोहोर व्यवस्थापन, फुटपाथ फोटो जोन, र सुरक्षा निगरानीको आवश्यकता महसुस भइरहेको छ ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता पाण्डेले भने, “गुलमोहरले हाम्रो सहरलाई चिनाउने अवसर दिएको छ । यसलाई व्यवस्थित बनाउने तयारीमा छौँ ।”

गुलमोहर : सौन्दर्य, स्मृति र सम्भावनाको चिह्न


गुलमोहरको फूल केवल हेराइका लागि होइन–यसले घोराहीमा ‘सहर–बिहानी’को सांस्कृतिक झल्को थपेको छ ।

प्राकृतिक सौन्दर्य, सामाजिक चहलपहल र सर्जनात्मक अभिव्यक्तिको केन्द्र बनेको यो ठाउँ अब स्थानीय पर्यटन प्रवर्धनको उपयुक्त उदाहरण बन्दैछ ।



प्रतिक्रिया दिनुहोस !