रुरुक्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ-मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ को शुक्रबार भव्य समारोहबीच उद्घाटन गरेका छन् ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरी आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले रुरुक्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
“रुरुक्षेत्र नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक हो,” उनले भने, “यस धामको धार्मिक महत्त्वका साथै सांस्कृतिक र प्राकृतिक सम्पदालाई उजागर गर्न यस्ता महोत्सवहरू अत्यन्तै महत्वपूर्ण छन्।”
महोत्सव शालग्राम दिवसको अवसर पारेर आयोजना गरिएको हो । पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्यमा तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव सञ्चालन भइरहेको छ।
महोत्सवमा धार्मिक पूजाआजा, सांस्कृतिक प्रस्तुति, लोकनृत्य, भजन–कीर्तन तथा पर्यटकीय प्रदर्शनीजस्ता विविध कार्यक्रमहरू समावेश गरिएको आयोजक समितिले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवबाट रुरुक्षेत्रको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। साथै, यसले स्थानिय पर्यटन, रोजगार र धार्मिक आस्थामा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।महोत्सवमा विभिन्न प्रदेशबाट आएका तीर्थयात्री, संस्कृतिकर्मी, धार्मिक विद्वान् र पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको छ।