कुष्ठरोगलाई ‘महारोग’ भनिनु लज्जास्पद-उपसभामुख राना

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई “महारोग” भनेर कानुनमै उल्लेख गरिनु लोकतान्त्रिक समाजका लागि लज्जास्पद रहेको टिप्पणी गरेकी छन्।
शनिबार काठमाडौंमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले रोगीहरूलाई विभेदकारी संज्ञा दिने मानसिकता कायमै रहनु दुःखद रहेको बताइन् ।
“मुलुकी देवानी संहितामा अहिले पनि कुष्ठरोगलाई महारोग भनेर परिभाषा गरिँदा लज्जास्पद लाग्यो,” उनले भनिन्, “हामी कहाँ अड्किएका छौं भन्ने कुरा त्यहीँबाट देखिन्छ ।”
उनले लोकतान्त्रिक शासन प्रणालीले सामाजिक न्याय र समानताका आधारमा कानुन परिष्कृत गर्नुपर्नेमा जोड दिँदै अझै पनि कुष्ठरोगीहरूप्रति राज्य संयन्त्र र समाजको दृष्टिकोणमा सुधार आवश्यक रहेको बताइन् ।
रानाका अनुसार नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि उनीहरूलाई राज्यको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित राखिनु अर्को दुःखद यथार्थ हो ।
उनले भनिन्, “करीब ३० हजार अशक्तता भएका नागरिकले सामाजिक भत्ता पाएका छन् होला, तर दुई लाख कुष्ठरोगीमध्ये धेरैले भत्ता पाएका छैनन्, जुन गम्भीर विषय हो ।”
उपसभामुख रानाले कुष्ठरोगीलाई ‘महारोग’ भन्ने कारणले गर्दा रोगीहरू मानसिक तनावमा जाने, सामाजिक बहिष्कार भोग्नुपर्ने र आत्मसम्मानमा चोट पुग्ने अवस्था सिर्जना हुने बताइन् ।
“जब हामी कसैलाई महारोगी भनेर नाम दिन्छौं, उनीहरू तर्सिन्छन्, डिप्रेसनमा जान्छन्, मानसिक समस्यामा पर्छन्,” उनले भनिन् ।
उनले कुष्ठरोग औषधिले निको हुने रोग भएकाले यसलाई डराउने वा हेप्ने विषय नबनाउन सबैलाई आग्रह गरिन्। साथै, कुष्ठरोगीहरूका लागि सिर्जनात्मक वातावरण निर्माण गर्नुपर्ने र उनीहरूको प्रतिभा तथा सीप विकासका लागि राज्यले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।
अन्त्यमा उपसभामुख रानाले कुष्ठरोग पीडितहरूको आवाज संसदसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको बताउँदै कुष्ठरोगसम्बन्धी विशेष विधेयक ल्याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।