१९ मंसिर २०८२, शुक्रबार

रुरु क्षेत्र गुरुयोजना कार्यान्वयनतर्फ तीन तहका सरकारको सहकार्य

प्रकाशित मिति :  11 May, 2025 9:33 am


दाङ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको समग्र धार्मिक तथा सांस्कृतिक विकासका लागि तीन तहका सरकारहरू (संघ, प्रदेश र स्थानीय) एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले २०७६ सालमा तयार पारेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना’लाई कार्यान्वयन गर्न साझा प्रयास आवश्यक रहेको निष्कर्षसहित प्रथम शालग्राम महोत्सव सम्पन्न भएको छ।

महोत्सव तानसेन नगरपालिका, रुरु क्षेत्र गाउँपालिका (गुल्मी), कालीगण्डकी गाउँपालिका (स्याङ्जा) तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको समन्वयमा आयोजना गरिएको हो ।

यस अवसरमा रुरु क्षेत्रदेखि रामपुरसम्म बग्ने कालीगण्डकी नदी प्रवाह क्षेत्रलाई ‘उत्तर बाहिनी गण्डकी’ क्षेत्रका रूपमा धार्मिक पर्यटन गन्तव्य बनाउने पहलको औपचारिक घोषणा गरियो ।

शालग्रामको आध्यात्मिक शक्ति र परिक्रमा मार्गको प्रस्ताव
कालीगण्डकी नदी र शालग्रामको धार्मिक महत्त्वलाई उजागर गर्दै दामोदर कुण्डदेखि त्रिवेणी, देवघाट, हृषिकेश हुँदै मुक्तिनाथसम्मको धार्मिक परिक्रमा मार्ग विकास गर्ने प्रस्ताव महोत्सवमा अघि सारिएको छ।

धार्मिक मान्यता अनुसार, गण्डकी नदीमा स्नान गरी हृषिकेश भगवानको दर्शन गर्ने र मुक्तिनाथ पुगेपछि मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ। यस धार्मिक रुटलाई पुनः सक्रिय गर्दै आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने योजनामा जोड दिइएको छ।

हृषिकेश मन्दिर : सम्पदाको मान्यता र महत्त्व
ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अतुलनीय हृषिकेश मन्दिर परिसरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी पनि महोत्सवमा सार्वजनिक गरिएको छ।

सन् २००८ मा यस क्षेत्रलाई सम्भावित सम्पदा सूचीमा राखिएको भए पनि हालसम्म औपचारिक मान्यता प्राप्त नभएकोमा नीतिगत पहल गर्ने बताइएको छ।

मेला संस्कृति र धार्मिक आस्था
प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा हृषिकेश क्षेत्रमा तीनदिने पवित्र मेला लाग्ने गर्दछ । मेलाका तीन दिन क्रमशः जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा चिनिन्छन् । विश्वास गरिन्छ-जो कोही गण्डकी नदीमा स्नान गरी तीन दिन रुरु क्षेत्रमा रहेर चतुर्भुज हृषिकेश भगवानको दर्शन गर्छ, ऊ पवित्र र पापमुक्त हुन्छ ।

संयुक्त गन्तव्य प्रवर्द्धन र निजी क्षेत्रको आह्वान
रुरु क्षेत्रलाई पर्यटकीय साझेदारी गन्तव्यको रूपमा विकास गर्न पाल्पा, गुल्मी, स्याङ्जा, लुम्बिनी र गण्डकी प्रदेशबीच सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

साथै, महोत्सवमार्फत निजी क्षेत्र, संघसंस्था, परोपकारी नागरिक, गैरआवासीय नेपाली समुदायबाट सहयोग जुटाउने आह्वान समेत गरिएको छ।

रुरु क्षेत्र, नेपालको चार प्रमुख धाममध्ये एक, केवल धार्मिक दृष्टिले होइन, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि राष्ट्रिय गौरवको प्रतीक बन्दै गएको छ।

यस्ता गुरुयोजनाहरूको सफल कार्यान्वयनले आन्तरिक पर्यटनको विकास मात्र होइन, नेपाली सभ्यता र संस्कृतिको संरक्षणमा पनि दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !