बुद्धको शान्तिपथमा नेपाल : २५६९औं बुद्धजयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

दाङ । आज देशभर २५६९औं बुद्धजयन्ती विविध कार्यक्रमसहित श्रद्धा, भक्ति र शान्तिको सन्देश बोकेर मनाइँदै छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन वैशाख शुक्ल पूर्णिमामा परेकाले यो दिनलाई त्रिसंयोग दिवसको रूपमा विशेष महत्वका साथ मनाउने परम्परा छ ।
लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्ध जस्ता बौद्ध तीर्थस्थलहरू आज बिहानैदेखि भक्तजनहरूको भिडले भरिएको छ । चैत्य, गुम्बा र विहारहरूमा बौद्ध भिक्षु, गुरु र लामाहरूले परम्परागत विधिअनुसार पूजा, ध्यान र शान्ति प्रवचनमार्फत आजको दिनलाई अर्थपूर्ण बनाइरहेका छन् ।
लुम्बिनी विकास कोषका अनुसार बुद्धजयन्तीलाई त्रिदिवसीय विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय रूपमै भव्य रूपमा मनाउन थालिएको छ ।
भगवान बुद्धको जन्म २६४९ वर्षअघि, इ.पू. ६२३ मा लुम्बिनीको सुन्दर बगैचामा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको थियो । राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजदरबार र विलासिता त्यागेर दुःख निवारणको बाटो समातेका थिए । दीर्घकालीन तपस्या पश्चात् बुद्धत्व प्राप्त गरेका उहाँले संसारभर अहिंसा, शान्ति र मैत्रीका अमूल्य सन्देश फैलाउनुभएको हो ।
“अहिंसा नै शान्ति र मैत्रीको आधार हो” भन्ने कालजयी सन्देशले आज पनि भगवान बुद्धलाई विश्वभर शान्तिका प्रतीकका रूपमा पूजिन्छ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष समारोहमा सहभागी हुन आज लुम्बिनी आउँदै छन् । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू तथा विभिन्न देशका राजदूतहरूको समेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई धार्मिक पर्यटनको विश्वस्तरीय केन्द्र बनाउने योजनामा अघि बढिरहेको छ। यसैअनुसार ‘बुद्ध सर्किट’ र ‘लुम्बिनी पर्यटन सर्किट’ अवधारणालाई समेत कार्यान्वयन गरिँदै छ।
बौद्ध दर्शनको उत्पत्तिस्थल लुम्बिनीमा आज छरिएको दीप, पूजा र प्रार्थनाले न केवल नेपालमा, विश्वभर शान्ति, सद्भाव र मानवता फैलाउने आशा गरिएको छ ।
नेपालका लागि यो दिन केवल स्मरणीय मात्र नभएर राष्ट्रिय गौरव, एकता र अन्तर्राष्ट्रिय सांस्कृतिक कूटनीतिका लागि पनि विशेष अवसर बनेको छ।