१९ मंसिर २०८२, शुक्रबार

आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  13 May, 2025 2:24 pm


दाङ । समाज रूपान्तरणका लागि केवल आर्थिक समृद्धि र भौतिक विकास मात्र पर्याप्त छैन, आध्यात्मिक चेतना र साधनाले मात्र समाजलाई सुन्दर, समुन्नत र शान्त बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आध्यात्मिक मार्गदर्शनले मानव जीवनको रूपान्तरण सम्भव हुने बताउनुभएको छ ।

मंगलबार सिद्धार्थनगर नगरपालिका–४ मा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई ध्यान, साधना र आध्यात्मिक शिक्षाको केन्द्र बनाउने सरकारको चाहना रहेको बताए । “ज्ञान र साधनाको माध्यमबाट मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। समाजलाई सत्मार्गमा लैजाने यो अभियानमा सरकार निरन्तर साथ रहनेछ,” उनले भने ।

उनले समाजमा बढ्दो मानसिक असन्तुलन, तनाव, आत्महत्या र विकृतिलाई रोक्न यस्ता आध्यात्मिक अभ्यासहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “हाम्रो जीवन के हो ? कसरी आनन्दित र सुखी हुने ? यस्ता प्रश्नहरूको उत्तर ध्यान, योग र आध्यात्मिक साधनाबाट पाउन सकिन्छ। यस्ता अभियानहरूले समाजमा समभाव, सद्भाव र सुसंस्कारको विकासमा योगदान पुर्‍याउने छन्,” उनको भनाइ थियो।

समाज रूपान्तरणको अभियानमा आध्यात्मिक आश्रम
साढे चार करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको यस आश्रमलाई देशभरबाट प्राप्त दान र सहयोगबाट निर्माण गरिँदै छ। ७ कठ्ठा क्षेत्रफलमा फैलिएको भैरहवा आश्रमसँगै अहिले देशभर ‘द आर्ट अफ लिभिङ’ का तीनवटा आश्रम सञ्चालनमा छन् भने २६ वटा योग केन्द्रहरूले ध्यान, साधना र मानसिक स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

संयोजक दिपेन्द्र प्रधानका अनुसार आश्रममा नियमित ध्यान, योग, आध्यात्मिक प्रवचनसँगै युवाहरुलाई लक्षित सीप विकास तालिम सञ्चालन गरिनेछ। भैरहवा आश्रमलाई सीप विकास तथा आध्यात्मिक उन्नतिको केन्द्रको रूपमा विकास गरिने योजना रहेको उनले जानकारी दिए ।

आध्यात्मिक यात्रालाई अझ सुदूर बनाउने योजना
‘द आर्ट अफ लिभिङ नेपाल’ का अध्यक्ष सिद्धेश्वर कुमार सिंहले देशभरका अन्य प्रदेशमा पनि यस्ता आश्रम तथा केन्द्र विस्तार गर्ने योजना रहेको बताए ।

“आधुनिक जीवनशैलीका कारण मानिस तनाव, चिन्ता र असन्तोषमा फसेका छन्। तिनलाई ध्यान, साधना र जीवनकलाका माध्यमबाट मुक्त गर्ने हाम्रो अभियान हो। यो अभियानलाई देशव्यापी बनाउन हामी प्रयत्नशील छौं,” सिंहले भने ।

मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि सरकार, नागरिक समाज र आध्यात्मिक अभियानबीच सहकार्य र साझेदारी आवश्यक रहेको जोड दिए । उनले ‘द आर्ट अफ लिभिङ’ आश्रमलाई लुम्बिनी प्रदेशको पर्यटन, शिक्षा र आध्यात्मिक उन्नतिमा योगदान दिने संस्थाको रूपमा विकास गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !