पुस्तौँको पर्खाइ सकियो : काेहलपुरका भूमिहीन सुकुम्वासीले पाए लालपुर्जा
बाँके । सुनसान बस्तीका गल्लीहरूमा अहिले खुसीको लहर छाएको छ । बाँकेको कोहलपुर नगरपालिका–१ मा भूमिहीन सुकुम्वासीका घर–घरमा आजभोलि उत्सवझैँ रौनक छाएको छ ।
पुस्तौँदेखि ऐलानी जमिनमा बस्दै आएका परिवारहरूलाई जब सरकारले लालपुर्जा थमायो, तब उनीहरूको आँखा रसाए । ती आँसुहरू पीडाका थिएनन्, बरु पुस्तौँको पर्खाइपछि आएको सन्तोष र गर्वका थिए ।
८० वर्षे सनबहादुर राना यस्ता भाग्यमानीमध्ये एक हुन् । उनी भन्छन्, ‘‘अब मर्दा पनि सुखले स्वास जाने भयो ।’‘ जीवनभर भूमिहीन भएर बिताएका रानाका लागि यो कागजको टुक्रा मात्र होइन, आत्मसम्मानको पहिचान हो । चवालिस वर्षदेखि आफ्नो भनिएको जमिनमा पराईझैँ बस्नुपर्दाको पीडा अब उनका सन्तानलाई भोग्नुपर्ने छैन ।
कोहलपुर नगरपालिका–१ का १२० भूमिहीन सुकुम्वासी र दलित परिवारले बल्ल लालपुर्जा पाएका छन् । एक कट्ठा जमिन, तर पनि तिनका लागि त्यो जमिन ‘आकाश छुनु’ सरह छ । स्थानीय लक्ष्मीबहादुर महत भन्छन्, ‘‘हामी भूमिहीन भन्ने परिचय अब बदलिएको छ। अब हामी जमिन भएका नागरिक हौं। ’‘
भूमिहीन समस्याले ग्रस्त यो बस्तीमा जब लालपुर्जा आयो, तब त्यो सानो जमिनका लागि उनीहरूलाई कहिल्यै नभोगिएको अधिकारको अनुभूति भयो । वडाध्यक्ष बद्रीप्रसाद जैसी भन्छन्, ‘‘यो केवल एउटा प्रक्रिया होइन, पुस्तौँदेखि अधिकारबाट बञ्चित भएका वडाबासीको जीवन परिवर्तनको सुरुवात हो ।’‘ उनका अनुसार बाँकी भूमिहीन परिवारलाई पनि क्रमशः लालपुर्जा वितरण हुँदैछ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार लुम्बिनी प्रदेशमै यो पहिलो उदाहरण हो । बाँके जिल्लाको कोहलपुर नगरपालिका–१ नै पहिलो स्थान हो जहाँ भूमिहीन सुकुम्वासी र दलितले लालपुर्जा हात पार्न सफल भएका छन् । उनका अनुसार बाँके देशको चौथो जिल्ला बनेको छ जहाँ यस्ता ऐतिहासिक वितरण भएको हो ।
अध्यक्ष खनालले आगामी जेठ दोस्रो सातासम्म बाँकेका अन्य स्थानीय तहहरूमा थप ९३६ जनालाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अहिले जिल्लामा ५४ हजार हाराहारीमा आवेदन परेको छ भने आगामी असारसम्म छ हजार लालपुर्जा वितरण गर्ने योजना छ ।
अब कोहलपुर मात्रै होइन, बाँकेको नेपालगञ्ज, राप्तीसोनारी, वैजनाथ जस्ता क्षेत्रमा पनि भूमिहीन सुकुम्वासीका बस्तीसम्म सरकारको लालपुर्जाको उज्यालो पुग्ने आशा पलाएको छ । भूमिहीन सुकुम्वासीको सपना हो कागजको लालपुर्जा मात्रै होइन, गरिबी र अपहेलना अन्त्यको आरम्भ होस् ।








