१९ मंसिर २०८२, शुक्रबार

आज देशभर बदली र वर्षाको सम्भावना, केही ठाउँमा हुरीबतास पनि

प्रकाशित मिति :  18 May, 2025 8:19 am


काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहनेछ । ती प्रदेशहरूका पहाडी भागका केही स्थानहरूमा र अन्य भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ। मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम सफा वा आंशिक बदली रहनेछ ।

रातिको समयमा पनि ती प्रदेशहरूका केही तराई भागमा र अन्य पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले सम्भावित वर्षा र हुरीबतासलाई मध्यनजर गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !