६ असार २०८२, शुक्रबार

लुम्बिनीका अस्पतालहरूले बोलपत्र प्रक्रियाविनै ३ करोडभन्दा बढीको सोझै खरिद

प्रकाशित मिति :  18 May, 2025 12:38 pm


काठमाडौँ । सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लंघन गर्दै लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरूले करोडौं रुपैयाँ बराबरको औषधी र सामग्रीहरू सोझै खरिद गरेका छन्। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार भीम अस्पताल रूपन्देही तथा गुल्मी अस्पतालले औषधि, स्वास्थ्य उपकरण तथा सर्जिकल सामग्री टुक्रा–टुक्रा पारी गरी कुल १ करोड ८७ लाख १३ हजार रुपैयाँ बराबरको सोझै खरिद गरेका छन्। यस्ता सामग्रीहरू सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ र नियमावली, २०६४ को नियम ८५ अनुसार बोलपत्रमार्फत खरिद गर्नुपर्ने व्यवस्था छ तर, खरिदलाई प्रतिस्पर्धाबाट बचाउन टुक्र्याएर सोझै खरिद गरिएको महालेखा प्रतिवेदनले औंल्याएको छ।

त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालले पनि आर्थिक वर्ष २०८०\८१ मा विभिन्न सप्लायर्सहरूसँग सोझै पटक–पटक गरेर ९४ लाख ५२ हजार रुपैयाँ बराबरको ल्याब तथा सर्जिकल सामग्री र १ करोड ३ लाख ३२ हजार बराबरको स्टेशनरी तथा छपाई कार्य खरिद गरेको पाइएको छ।

महालेखाले यस्तो प्रकृतिको टुक्रा खरिदले पारदर्शिता र वित्तीय अनुशासनमा प्रश्न उठाएको उल्लेख गरेको छ। सार्वजनिक निकायहरूले कानूनअनुसार प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्नेमा, नियम मिचेर सोझै खरिद गरिनु चिन्ताजनक विषय भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखाको प्रतिवेदनले यस्ता टुक्रा–टुक्रा खरिदलाई नियन्त्रण गर्न आवश्यक नीति तथा अनुगमन प्रणाली कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !