२१ बैशाख २०८१, शुक्रबार

पाटन अस्पतालमा फिल्मी शैलीमा २० लाख पर्ने मेसिनको पाटपूर्जा चोरी,डाक्टरसहित २ जना पक्राउ

प्रकाशित मिति :  10 June, 2020 9:22 pm


काठमाडौं, २८ जेठ ।

महानगरीय प्रहरी परिसर ललितपुरले पाटन अस्पताल भित्र सामान चोरीको आरोपमा एक डाक्टर र एक अहेबलाई पक्राउ गरेको छ ।

चोरीको आरोपमा सर्लाही स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका ३१ मा बस्दै आएका ३६ वर्षीय डा. प्रविन मिश्र र जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर १३ बर्दिवास बस्ने २० का अहेब रमेश कुमार शर्मा पक्राउ परका हुन् ।

जेठ १७ गते विहान पाटन अस्पतालको आईसियू २० लाख ७९ हजार ८ सय ७ रुपैयाँ पर्ने पोर्टेबल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौै भन्दै दुबै जना छिरेका थिए ।

वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी दुबै जनाले मिलेर पार्टपूर्जा चोरेको  प्रहरीको भनाई छ । कसरी उनीहरु संवेदनशील क्षेत्रमा छिरेर पाटपूर्जा लिएर गए भन्ने विषयमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

दुबै जनाले बर्दिबासमा डी एण्ड बी पोलिक्लिनिक सञ्चालन गर्दै आएको खुलेको छ । उनीहरुलाई चोरी गरेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित दुबै जनालाई बानेश्वरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक  राईले जानकारी दिए । दुबै जनालाई आज ५ दिनको म्याद थप गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !