जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित-पीडकबिच स्पष्ट सम्झौता आवश्यक छः सहमहामन्त्री परियार
काठमाडाैँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पीडकबिच स्पष्ट सम्झौता आवश्यक रहेको बताएका छन् ।
काठमाडौँमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताएका हुन् ।
पीडित र पीडकबिच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उनको भनाइ छ । उनले जातीय भेदभावको अन्त्य गर्न तल्लो तहबाट नभई नीति निर्माणको तहबाट पहल गरिनुपर्ने बताए ।
जातीय समावेशिता, समानता र न्याय सुनिश्चित गर्न कानूनी तथा सामाजिक रूपान्तरणको आवश्यकता उनको भनाइ छ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्य गर्न स्पष्ट रुपमा कानूनी व्यवस्था हुनुपर्ने बताइन् ।
संसदमा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै उनले सकारात्मक आन्दोलन आवश्यक रहेको बताइन् । तल्लो तहबाट दलितको मुद्दा नबोलेको आरोप लाग्ने गरेको र संसदमा बोल्नको लागि दलितको मुद्दा मात्रै छ र ? प्रश्न गरिने भएको कारण समस्या भएको उनकाे भनाइ छ ।
सांसद मिजारले अहिले पनि जातीय भेदभाव र छुवाछुतको विषय संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भेदभावको अन्त्य गर्नको लागि ठूलो आन्दोलको आवश्यकता रहेको उल्लेख गरिन् ।








