१९ मंसिर २०८२, शुक्रबार

आजकाे माैसम : देशभर बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

प्रकाशित मिति :  26 May, 2025 7:01 am


काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलवायु प्रणालीको यो प्रभावसँगै देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा वर्षाको सम्भावना देखिएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमी र दक्षिण-पश्चिमी क्षेत्र, भारतको केरला, माल्दिभ्स तथा श्रीलङ्कासम्म मनसुन प्रणाली प्रवेश गरिसकेको छ। बंगालको खाडीबाट जमिनतर्फ मनसुनको लहर क्रमशः अगाडि बढिरहेकोले आगामी दिनहरूमा नेपालको पूर्वी भाग हुँदै मनसुन सक्रिय हुने संकेत देखिएको छ ।

आजको मौसम पूर्वानुमान
सोमबार दिउँसो कोशी, मधेस, बागमतीलगायत प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो अवस्थामा विशेष गरी ती क्षेत्रमा जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसममा देखिएको यो अस्थिरता र वर्षा सम्भावनालाई ध्यानमा राख्दै मौसम महाशाखाले किसान, यात्रु, विद्यार्थी तथा सेवा प्रदायक निकायलाई समयमै आवश्यक तयारी गर्न आह्वान गरेको छ। यात्रा गर्ने, खेतीपातीमा संलग्न हुने तथा हिमाली क्षेत्रतर्फ गइरहेका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।



प्रतिक्रिया दिनुहोस !