२० मंसिर २०८२, शनिबार

भिजिट भिसा प्रकरण मानव तस्करीको गम्भीर मुद्दा हो-रास्वपा

गृहमन्त्रीको राजीनामा मात्रै पर्याप्त छैन, उच्चस्तरीय छानबिन आवश्यक रहेकाे रास्वपा सांसद गणेश पराजुलीकाे भनाइ
प्रकाशित मिति :  27 May, 2025 1:47 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले भिजिट भिसा दुरुपयोग प्रकरणलाई सामान्य भ्रष्टाचारको विषय मात्र नभई मानव तस्करीजस्तो गम्भीर अपराधको रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त प्रकरणमा राज्यका संयन्त्रहरू नै संलग्न देखिएको हुँदा निष्पक्ष र गहिरो अनुसन्धान अपरिहार्य भएको धारणा राखे ।

सांसद पराजुलीले भनिन्, “भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने कार्य भइरहेको भन्ने उजुरीहरू आए पनि गृह प्रशासन त्यसप्रति गम्भीर हुन नसकेको देखिन्छ । यसको अर्थ, राज्य संयन्त्रले नै मानव तस्करीलाई प्रश्रय दिएको जस्तो देखिन्छ ।”

उनले विशेषतः अध्यागमन विभागबाट भिजिट भिसा प्रक्रियामार्फत मानव तस्करी भइरहेको तथ्यांक सार्वजनिक भइरहेका बेला जिम्मेवार निकायले त्यसको अनुसन्धान नगरी दोषी देखिएका कर्मचारीलाई संरक्षण गर्न सरुवा गरेको आरोप लगाए ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि गृह मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेर अनुसन्धानबाट बचाउन खोज्नु शंकास्पद छ,” उनले भने, “यसरी दोषीलाई जोगाउने प्रयास हुनु गम्भीर विषय हो ।”

सांसद पराजुलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई केवल नैतिकताको सवाल भनेर सीमित राख्न नहुने बताए । उनका अनुसार लेखकमाथि गम्भीर संलग्नताको आशंका रहेकाले अब उनीमाथि निष्पक्ष छानबिन गर्न बाटो खोल्न जरुरी भइसकेको छ।

उनले भने, “गृहमन्त्रीमाथिको संलग्नताको शंका झनै बलियो हुँदै गएको छ । त्यसैले अब उनीमाथि उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। दोषी प्रमाणित भए कडा कानूनी कारबाही हुनुपर्छ ।”

सांसद पराजुलीको धारणाअनुसार, यो प्रकरणले देशको अध्यागमन प्रणाली, भिसा वितरण प्रक्रिया, र गृह मन्त्रालयको जिम्मेवारीप्रतिको जनविश्वासमा गम्भीर आघात पुर्‍याएको छ । उनले राज्य संयन्त्रले नागरिकको जीवन र सुरक्षाप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस !