गणतन्त्रको १८ वर्ष : समाजवादी विकल्पकाे खोजीमा विप्लव
पुस्तक विमोचनदेखि स्मृति सभा र व्यापारिक संवादसम्मको विप्लवको वैचारिक यात्रा
दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी बहसलाई नयाँ शिराबाट अघि बढाउने उद्घोष गरेका छन् ।
२४औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा जनपत्रकार संगठन नेपालद्वारा प्रकाशित स्मृति र आदर्श पुस्तक विमोचन गर्दै महासचिव विप्लवले भने, “राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो तर यस्तो गणतन्त्र हाम्रो चाहना होइन । हामीले जनयुद्धमार्फत् ल्याएको गणतन्त्रमा जनताले समृद्धि महसुस गर्नुपथ्र्याे तर अहिले त मुठ्ठीभर नेताहरू मोटाएका छन् ।”
उनको भनाइमा अहिलेको गणतन्त्र दलाल पुँजीवादमा रूपान्तरण भइसकेको छ, जसमा जनताको हैसियत सुकुम्बासीजस्तै बनाइएको छ । संविधान संशोधन गरेर भए पनि समाजवादी कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिँदै विप्लवले नेपालको संकटको समाधान समाजवादमै भएको दाबी गरे ।
विप्लवले मुलुकको समृद्धिका लागि उत्पादन प्रणालीलाई बलियो बनाउने लक्षसहित तीन आधार प्रस्ताव गरे । उत्पादन प्रणाली राज्य नियन्त्रित उत्पादन, सामूहिक उत्पादन प्रणाली र निजी उत्पादनको संयोजन रहेको भन्दै उनले यस अवधारणाले वर्गीय न्याय, स्वाधीनता र आत्मनिर्भरताको संरचना निर्माण गर्ने बताए ।
८४ को निर्वाचन र राजनीतिक एकता
पार्टी संसदीय निर्वाचन प्रणालीमा जाने भन्दै महासचिव विप्लवले २०८४ को निर्वाचनमा पार्टीले भाग लिने घोषणा गरे । उनले विचार मिल्ने शक्तिहरूसँग एकता गर्ने तथा एकल उम्मेदवारी प्रस्तुत गर्ने रणनीति सार्वजनिक गरे । “समाजवादी लक्षका लागि आवश्यक परे जनमत संग्रह वा विद्रोहको बाटो पनि रोज्न सकिन्छ”, उनले भने ।
नेपालमा चलिरहेका तीन बहस–राजतन्त्र, दलाल पुँजीवाद र समाजवादमध्ये समाजवाद मात्र नै नेपालको समस्या समाधानको मार्ग भएको उनले बताए । “राजतन्त्रले देशलाई सामन्तवादतिर धकेल्छ भने दलाल पुँजीवादले श्रमजीवी जनतालाई कंगाल बनाउँदै लगेको छ”, उनले भने, “समाजवादका पक्षमा खुला बहस गर्न सबैलाई आग्रह गर्दछु ।”
जनसम्पर्क अभियान : मर्निङ वाकदेखि स्मृति सभासम्म

महासचिव विप्लवले आफ्नो विचारलाई पुस्तान्तरण गर्नका लागि पुस्तकमात्र विमोचन गरेनन्, जनजीवनमा प्रत्यक्ष सहभागिता जनाउने शैली पनि अपनाए ।
दाङको घोराही–१८ स्थित बयलडाँडा चौतारी क्लवको आयोजनामा आयोजित बिहानको मर्निङ वाक कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य सन्तोष सीलगायत क्लवका पदाधिकारीहरू काँधमा ढुंगा बोकेर चौतारी निर्माणको काममा सहभागी भए ।
“बिहानीपख ढुंगा उठाएर चौतारी बनाउनु भनेको नेपाली जनताको आकांक्षा निमाण गर्नु हो”, उनले भावुक रूपमा भने । उनले बृक्षारोपण र वातावरण संरक्षणलाई पनि समाजवादको सांस्कृतिक पक्षका रूपमा जोड्दै देश बनाउन सपना टुट्न नदिनु आग्रह गरे ।
महासचिव विप्लवको पछिल्लो अभियान केवल राजनीतिक घोषणामा सीमित छैन । पुस्तक विमोचन, जनक्रियाशीलता, स्मृति सभाहरू, युवा सहभागिता र वैचारिक हस्तक्षेपमार्फत् उनले वैकल्पिक समाजवादी व्यवस्थाको खाका सार्वजनिक गरिरहेका छन् । उनीभित्रको चिन्ता भने सुस्पष्ट छ–गणतन्त्रको नाममा जनताको अधिकार नष्ट भएको छ र त्यसलाई समाजवादी मार्गदर्शनमा रूपान्तरण गर्न आजको आवश्यकता छ ।








