१९ मंसिर २०८२, शुक्रबार

राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रकाशित मिति :  27 May, 2025 6:27 pm



देउखुरी । राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएको घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडामा खोप सेवाको पूर्ण पहुँच सुनिश्चित भएपछि मंगलबार एक औपचारिक कार्यक्रममा पालिकालाई दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको हो ।

उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्मा प्रमुख अतिथि थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोरकुमार आचार्यले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार, पालिकाभित्रका १६ महिनादेखि २३ महिना र २४ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकिएकोले पूर्ण खोप सुनिश्चितता सम्भव भएको हो ।

राप्ती गाउँपालिकामा गरिएको सर्वेक्षणअनुसार १५ महिनासम्मका ७८८ जना, १६–२३ महिनासम्मका ६३३ जना बालबालिका, २४–५९ महिनासम्मका १०२८ जना गरी जम्मा २०४४ जना बालबालिकामा पूर्ण खोप सेवा पुर्याइएको पुष्टि भएपछि दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नित्यानन्द शर्माले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु राष्ट्रको कर्तव्य भएको उल्लेख गर्दै भने, “राप्ती गाउँपालिकाले सबै वडामा राष्ट्रिय मापदण्डअनुसारको खोप सेवा पुर्याएको छ, जुन सराहनीय उपलब्धि हो । यो उपलब्धि सबै पक्षको साझा प्रयासको परिणाम हो ।”

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको योगदान प्रति आभार व्यक्त गरे ।

“हाम्रो गाउँपालिकाले खोप सेवामार्फत् बालबालिकालाई सुरक्षित भविष्य दिन सकेकोमा हामी गर्व गर्छाैं”, उनले भने । कार्यक्रममा प्रत्येक वडालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

समारोहमा उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किशोरकुमार आचार्य, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !