२० मंसिर २०८२, शनिबार

सङ्घीय संसदका दुवै सदनको बैठक आज : आर्थिक सर्वेक्षण र विधेयक प्रस्तुत हुने

प्रकाशित मिति :  28 May, 2025 8:03 am


फाइल फाेटाे।

काठमाडौँ । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेका लागि तय गरिएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि निर्धारित छ ।

मङ्गलबारको बैठक प्रतिपक्षी दलहरूको विरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आजको बैठकमा भने महत्वपूर्ण विधेयक र प्रतिवेदनहरू प्रस्तुत गरिने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुहुनेछ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ संसदमा पेश गर्नुहुनेछ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ ।

उता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

राष्ट्रियसभामा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या तथा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर पनि सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।



प्रतिक्रिया दिनुहोस !