अनेरास्ववियुमा अब ३२ वर्षे उमेरहद लागू गर्न एमालेले जारी गर्याे परिपत्र
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुमा अब ३२ वर्ष ननाघेकाहरू मात्र पदाधिकारी बन्न सक्ने स्पष्ट सन्देश दिएको छ । आसन्न २४औँ महाधिवेशनबाटै यो नयाँ नियम लागू हुने भएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी परिपत्रमा अनेरास्ववियु इन्चार्ज किशोरविक्रम मल्ललाई महाधिवेशनका सबै प्रतिनिधिहरूका लागि ३२ वर्षे उमेर सिमा लागू गर्न निर्देशन दिइएको छ ।
मल्लका अनुसार यो परिपत्र शुक्रबार प्राप्त भएको हो, जसअनुसार जेठ २५–२७ मा काठमाडौँमा हुने महाधिवेशनमा नै यो मापदण्ड प्रयोगमा आउनेछ ।
एमाले सचिवालयको जेठ ११ गतेको बैठकले नै यो निर्णय लिएको थियो । अब, नयाँ विधान अनुसार ३२ वर्ष उमेर ननाघेका मात्र पदाधिकारी तथा सदस्यका उम्मेदवार बन्न सक्नेछन् ।
परिपत्रमा भनिएको छ, “यसरी निर्वाचित भएका प्रतिनिधिहरू अर्को महाधिवेशनसम्म पदमा कायम रहनेछन् ।” साथै, उमेर हदको यो नियम सङ्गठनका सबै तहमा लागू हुने व्यवस्था विधानमार्फत् गरिने उल्लेख छ ।
यो निर्णयसँगै अनेरास्ववियु पनि विद्यार्थी राजनीति र नेतृत्वमा उमेर अनुशासन ल्याउने पंक्तिमा उभिएको छ। यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) ले पनि ३२ वर्षे उमेर हद लागू गरिसकेका थिए ।
एमालेकै राष्ट्रिय युवा सङ्घ मा भने ४० वर्षे उमेर हद कायम छ र स्ववियु निर्वाचनमा उम्मेदवारका लागि २८ वर्षे सीमा तोकिएको छ । एमालेको यो कदमले अनेरास्ववियुमा नेतृत्वको स्वाभाविक हस्तान्तरण र नयाँ पुस्ताको प्रतिनिधित्वको ढोका खोल्ने विश्लेषण गरिएको छ ।
पार्टीभित्रै लामो समयदेखि उठ्दै आएको ‘पुराना अनुहारको चक्र’ तोड्ने मागसँग मेल खाने यो निर्णयले अनेरास्ववियुमा नयाँ नेतृत्वको उदय सहज बनाउने अपेक्षा गरिएको छ ।
जेठ २५ देखि सुरु हुने महाधिवेशन अब उमेर सिमा मात्र होइन, नेतृत्व संस्कृति परिवर्तनका दृष्टिकोणले पनि चर्चाको केन्द्रमा रहन सक्छ। ३२ कटे नेताहरूलाई अब इतिहासको जिम्मेवारी दिने र नयाँ पुस्तालाई भविष्यको जिम्मा सुम्पिने समय आएको सन्देश यो निर्णयले दिएको छ।








