देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिम तथा मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको असर परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशसहित पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज रातिको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीसहित मुख्यतः मौसम सफा रहने बताएको छ।
कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनाबारे पनि जानकारी दिइएको छ।
उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, संभावित प्रभावहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।








