१९ मंसिर २०८२, शुक्रबार

धुम्रपानकाे चिन्ताजनक तथ्याङ्क : नेपालमा सुर्तीजन्य पदार्थ सेवन १,२०० गुणाले वृद्धि

प्रकाशित मिति :  31 May, 2025 7:18 am


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही वर्षअघि गरेको सर्वेक्षण अनुसार नेपालका ७२ प्रतिशत घरमा कम्तिमा एकजना सदस्य धूम्रपान गर्ने पाइएको छ । झनै गम्भीर तथ्य के छ भने करिब १२ प्रतिशत व्यक्तिहरूले १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य पदार्थको सेवन सुरु गर्ने गरेका छन्।

नेपाल धूम्रपान गर्ने राष्ट्रहरूको अग्रपंक्तिमा पर्दै आएको छ। अर्काे एक अध्ययनअनुसार मुलुकका ७३ प्रतिशत जनसंख्याले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने ९० प्रतिशतले कम्तीमा एक पटक चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गरेको अनुभव गरेका छन्।

झनै चिन्ताजनक त के छ भने २५ प्रतिशत शहरी क्षेत्रका गर्भवती महिलाले समेत धूम्रपान गर्ने गरेको तथ्य फेला परेको छ । त्यस्तै, ७७ प्रतिशत भन्दा बढी महिलाले र ८९ प्रतिशत भन्दा बढी पुरुषले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चुरोट, खैनी, सुर्ती, गुटखा लगायतका पदार्थ सेवन गर्ने गरेका छन् भन्ने निष्कर्ष २,१३९ जनालाई निःशुल्क स्वास्थ्य शिविरमा गरिएको मुख परीक्षणमा प्राप्त भएको छ ।

धूम्रपान र सुर्तीजन्य पदार्थको लत विश्वव्यापी चिन्ताको विषय बनिरहेका बेला नेपालमा समेत यसले भयावह रूप लिएको छ। पछिल्ला १५ वर्षमा यस्ता पदार्थको खपत १,२०० गुणा बढेको अनुमान गरिएको छ । यसको असर शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षमा भयावह रूपमा देखिन थालेको छ ।

धूम्रपानको प्रवृत्तिले विशेष गरी किशोर, युवायुवती र निम्न आय भएका वर्गलाई बढी प्रभाव पारिरहेको छ । सुर्तीजन्य पदार्थको प्रयोगले नशालु पदार्थ हेरोइन, कोकिनजस्ता कडा लागूपदार्थतर्फ समेत लैजाने जोखिम बढेको विज्ञहरू बताउँछन् ।

चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको व्यावसायिक रणनीतिले पनि सर्वसाधारणलाई लत लाग्ने बनाउने गरी बजार नियोजन गरिरहेको आलोचना हुँदै आएको छ।

यिनै समस्यालाई दृष्टिगत गर्दै हरेक वर्ष मे ३१ तारिखमा ‘विश्व धूम्रपानरहित दिवस’ मनाउने गरिएको छ। यस दिवसको उद्देश्य आमनागरिकमा सुर्तीजन्य पदार्थको हानिकारक असरबारे सचेतना फैलाउने, सेवनलाई निरुत्साहित गर्ने र धूम्रपानरहित समाज निर्माणतर्फ अग्रसर गराउने रहेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार धूम्रपानले क्यान्सर, मुटुरोग, फोक्सोसम्बन्धी समस्या, बाँझोपन र समयअगावै मृत्युको खतरा बढाउँछ। यस्तो स्थितिमा सरकार, गैरसरकारी संस्था र नागरिक समाजबीचको सहकार्यद्वारा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा रोकथाम अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक देखिएको छ।



प्रतिक्रिया दिनुहोस !