काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज लिएको छ । संकल्प इन्भेष्टमेन्टले आफ्नो पहिलो लगानीको रुपमा ‘एभेरष्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको हो ।
‘एभरेष्ट कफी बिन्स’ को पनि यो पहिलो फ्रेन्चाइज बिक्री हो । एभरेष्ट ग्रुप अफ कम्पनीजले ‘एभरेष्ट कफी बिन्स’ सञ्चालन गर्दै आएको छ । त्यसमा कम्पनीले पहिलो पटक फ्रेन्चाइज बिक्री गरेको हो ।
संकल्प इन्भेष्टमेन्टले फ्रेन्चाइज लिएर काठमाडौंको अनामनगरमा सेवा सुभारम्भ गरिसकेको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा स्थापना गरिएको ‘एभेरष्ट कफी बिन्स’को शुक्रबार औपचारिक उद्घाटन समेत हुँदैछ ।
यो ‘एभेरष्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज र सातौं आउटलेट हो । संकल्प इन्भेष्टमेन्टको लगानी रहेको यस आउटलेटलाई सञ्चालन भने एभरेष्ट ग्रुप अफ कम्पनीजे नै गर्नेछ ।
संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले पहिलो लगानीको रुपमा ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज लिएको बताए । ‘गुणस्तर र सेवामा हामीलाई एभरेष्ट कफी बिन्स उत्कृष्ट लाग्यो । तसर्थ, हामीले हाम्रो समुहको पहिलो लगानीको रुपमा यसको फ्रेन्चाइज लिएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यसको फ्रेन्चाइज लिएर अन्य ठाउँमा सेवा सुभारम्भ गर्छाै ।’
एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज बिक्री गर्न सुरु गरेको बताए । यही अवसरमा अब थप पाँच वटा फ्रेन्चाइज बिक्रीमा कुनै पनि शुल्क नलिने पनि उनको भनाइ छ ।
‘एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज दिन सुरु गरेका छौं । लगानीकर्तालाई हौसला प्रदान गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिनेछौ । सञ्चालन तथा व्यवस्थापनको काम पनि हामीले गर्नेछौ,’ उनले भने, ‘न्यूनतम २० लाख रुपैयाँको लगानीमा हाम्रो मापदण्डअनुसार एभरेष्ट कफी बिन्सको आउटलेट सञ्चालन गर्न सकिनेछ ।’
हालसम्म सात वटा आउटलेट विस्तार गरेको एभरेष्ट ग्रुप अफ कम्पनीजले आठौं आउटलेट कलंकीमा स्थापना गर्दैछ । युवा व्यवसायी तथा एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेष्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए ।
तीन बर्षको अवधिमा एभरेष्ट कफी बिन्सको सात वटा आउटलेट सञ्चालनमा आइसकेको छ । यसअघि मैतीदेवीसहित २०८१ भदौ १ गते जाउलाखेल, २०८१ पुस १७ गते अनामनगर, २०८२ साउन १ गते सेतोपुल र २०८२ भदौ १ गते कालीमाटीमा एभरेष्ट कफी बिन्सको आउटलेट स्थापना गरिएको थियो । यसैगरि गत माघ ९ गते दरबारमार्गमा यसको छैटौँ आउटलेट सञ्चालनमा ल्याइएको थियो ।
त्यसपछि अहिले अनामनगरको सिंहरबार पूर्बीगेटमा थप आउटलेट स्थापना गरिएको हो । अब कलंकीमा आठौं आउटलेट स्थापना गर्न पूर्व तयारीका कामहरु भइरहेको अध्यक्ष सुनारले बताए ।
एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम र विभिन्न प्रकारका खाजा पनि उपलब्ध हुनेछन् । एभरेष्ट ग्रुपले कफी र यस सम्बन्धी हस्पिटालिटीमा तथा तालिममा लगानी गर्दै आएको छ । साथै, रोस्टेट कफी बिन्सको व्यापार समेत गर्दै आएको छ ।
एभरेष्ट ग्रुपले एभरेष्ट कफी बिन्स प्रालि नामक छुट्टै स्थापना गरेर रोस्टेट कफी बिन्स तथा कफी बिन्सको आयात गरेर स्वदेशी बजारमा आपूर्ति गर्दै आएको छ ।
चितवन, पोखरा र बुटवलमा डिलर स्थापना गरेर देशभर ४०० भन्दा बढी कफीसप तथा रेष्टुरेण्टलाई कफी बेच्दै आएको छ । यसैगरी नेपाली किसानबाट उचित मूल्यमा कफी बिन्स खरिद गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने काम समेत यो कम्पनीले गर्दै आएको छ ।








