१९ मंसिर २०८२, शुक्रबार

आजको मौसम : देशभर बदली, पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  1 June, 2025 8:14 am


काठमाडौँ । हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको असर परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागहरूमा मौसम सामान्यतः सफा वा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।

यी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भागमा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।

आज रातिसमेत देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा अन्य पहाडी भागहरूमा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना यथावत् रहेको छ ।

मौसममा देखिएको यो सक्रियताका कारण सम्भावित जोखिमबाट सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र आवश्यक तयारी गर्न समेत सुझाव दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !