लोकतन्त्रलाई बदनाम गर्न भ्रमको खेती भइरहेको छ- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र गणतन्त्रमाथि भ्रम फैलाउने नियोजित प्रयास भइरहेको बताउँदै त्यसको प्रतिवादमा जनता र नेतृत्वले सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पोखरेलले केही शक्तिहरू नेपाली समाजलाई पछाडि फर्काउने कुत्सित मनसायका साथ “भ्रमको खेती”मा लागेको आरोप लगाए ।
पोखरेलले पछिल्लो समय “लोकतन्त्रले केही दिएन, बरु राजतन्त्र नै ठीक थियो” भन्ने खालका बहस जानाजान चलाइएको बताउँदै यस्तो प्रचार–प्रसार व्यवहारिक तथ्य र उपलब्धिका आधारमा खारेज गर्न जरुरी रहेको उल्लेख गरे ।
“हिजो जनताको बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रमाथि नै अविश्वास जगाउने प्रयास भइरहेको छ,” उनले भने, “राजावादी र मण्डलेहरूले बोलेको कुरा व्यवहारिक रूपमा मूल्याङ्कन हुनुपर्छ ।”
उनले पञ्चायतकालको अर्थतन्त्र र आजको अर्थतन्त्र, प्रतिव्यक्ति आय, सामाजिक विकासका सूचकहरू र पूर्वाधार निर्माणको अवस्था तुलना गरेर हेर्नुपर्ने तर्क गरे ।
“लोकतन्त्रले नेपाली समाजको आमूल परिवर्तनमा ठूलो योगदान दिएको छ,” पोखरेलले भने, “तर, त्यो सन्देश जनतासम्म प्रभावकारी रूपमा पुर्याउन हामी चुकेका छौँ ।”
एमाले सरकार र विकासको सम्बन्ध
महासचिव पोखरेलले वामपन्थी, विशेषतः एमाले नेतृत्वमा रहँदा देशले आर्थिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको दाबी गरे । उनका अनुसार, केपी शर्मा ओली नेतृत्वमा उच्च आर्थिक वृद्धि हासिल भएको थियो र कोभिड महामारीको जस्तो कठिन समयमा पनि अर्थतन्त्र तुलनात्मक रूपमा कम क्षति बेहोर्न सफल भयो ।
“हाम्रो सरकार हुँदा विकासले गति लिन्छ,” पोखरेलले भने, “तर जब एमाले सरकारबाट हटाइन्छ, देश आर्थिक संकटतिर जान्छ ।” उनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा एमालेको योगदान सदैव सकारात्मक र प्रभावकारी रहेको दाबी गरे ।
एमालेमाथिको आक्रमण र आन्तरिक चुनौती
हाल एमालेमाथि भइरहेको चौतर्फी आक्रमणलाई पोखरेलले सुनियोजित र संगठित प्रयासका रूपमा व्याख्या गरे । “राजावादी, माओवादी, रास्वपा सबैले मिलेर एमालेलाई कमजोर बनाउने खेल खेलिरहेका छन्,” उनको आरोप थियो । “हिजो सत्ताका लागि अध्यक्ष निवासमा धाउनेहरू नै आज एमालेविरुद्ध विष वमन गरिरहेका छन् ।”
उनले अन्तर्राष्ट्रिय शक्तिहरूले पनि नेपाललाई आफ्नो ‘क्रिडास्थल’ बनाउन खोज्दै एमालेमाथि प्रहार गरिरहेको आरोप लगाए । “एमाले नभएको भए नेपाल आज विदेशी शक्तिको खेलमैदान भइसकेको हुन्थ्यो,” पोखरेलको भनाइ थियो ।
आफ्नै पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाएको भन्दै उनले पार्टीभित्रको आन्तरिक अनुशासनप्रति पनि चिन्ता व्यक्त गरे । “म भए ठीक, अरू भए छाड्दिन भन्ने प्रवृत्ति घातक छ,” उनले स्पष्ट पारे ।
‘मिसन २०८४’ र एकल सरकारको आवश्यकता
पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘मिसन २०८४’ अन्तर्गत एकल बहुमत प्राप्त गरेर स्थिर र बलियो सरकार गठन गर्नुपर्नेमा जोड दिए । “अब देशलाई धेरै पार्टीको जटिल संयोजन होइन, स्थायित्व दिने बलियो दल चाहिएको छ,” उनले बताए ।
उनले वर्तमान दुई ठूला पार्टी मिलेर बनेको सरकारमा पनि विचार र नीतिहरू कार्यान्वयनमा कठिनाइ भइरहेको बताउँदै एकल सरकार सञ्चालनको आवश्यकता दोहोर्याए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेसँग ‘छलछाम’ गरेकाले यस्तो राजनीतिक अवस्था आएको उनको टिप्पणी थियो ।
नेपालको सामाजिक विकासमा स्वास्थ्य क्षेत्रले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै महासचिव पोखरेलले सीमित स्रोत र जनशक्ति हुँदाहुँदै पनि नेपाली स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसा गरे । “स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले सामाजिक रूपान्तरणमा ठूलो परिवर्तन ल्याएको छ,” उनले भने ।








