२० मंसिर २०८२, शनिबार

एमाले संसदीय दलको बैठक आज : बजेटमाथि गहन समीक्षा हुने

प्रकाशित मिति :  2 June, 2025 10:07 am


काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा बस्ने भएको छ ।

दिउँसो १ बजेका लागि निर्धारित बैठकमा यही जेठ १५ गते सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट र समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल हुने भएको छ ।

संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार, बैठक पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्नेछ ।

बैठकमा बजेटबारे विविध पक्षबाट मन्थन गरिनेछ-‘बजेट कस्तो आउनुपर्थ्यो ? कस्तो आयो ? वर्तमान राष्ट्रिय परिस्थिति अनुसार त्यो उपयुक्त छ कि छैन ?‘’ भन्ने विषयमा गम्भीर बहस हुने उनले जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मूल भावना र रणनीतिक लक्ष्यबारे प्रस्ट पार्ने छन् । त्यस्तै, पार्टी महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले बजेटको नीति, कार्यक्रम तथा कार्यान्वयन पक्षमाथि विश्लेषणात्मक प्रस्तुति दिने कार्यक्रम छ । एमाले संसदीय दलको बैठकलाई आगामी दिनका लागि पार्टीको आर्थिक दृष्टिकोण स्पष्ट पार्ने अवसरका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !