२० मंसिर २०८२, शनिबार

चीन भ्रमणबाट स्वदेश फर्किइन् पूर्वराष्ट्रपति भण्डारी : उच्चस्तरीय भेटवार्ता र सकारात्मक सन्देशसहित

प्रकाशित मिति :  2 June, 2025 12:20 pm


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ १ गते चीन प्रस्थान गरेकी भण्डारी सोमवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायत प्रतिनिधिमण्डल सहभागी थिए ।

फलदायी भेटवार्ता र कूटनीतिक उपलब्धि

उद्योगमन्त्री भण्डारीका अनुसार भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत उच्चपदस्थ अधिकारीहरूसँग महत्वपूर्ण भेटवार्ता गरेकी थिइन् ।

भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय सहयोग विस्तार, सांस्कृतिक सम्बन्ध अभिवृद्धि, आर्थिक कूटनीति, क्षेत्रीय स्थायित्व तथा विगतमा भएका समझदारीहरूको कार्यान्वयनबारे सकारात्मक छलफल भएको बताइएको छ ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई दिएको सम्मान, स्वागत र राजनीतिक उपस्थितिले नेपालप्रति चिनियाँ नेतृत्वको सकारात्मक सन्देश प्रवाह गरेको विश्लेषण भइरहेका छन् ।

विशेषगरी वाम शक्तिको एकता र नेतृत्व स्वीकार्यता विषयमा चीनले चासो राखेको भन्दै केही विश्लेषकहरूले भ्रमणलाई “राजनीतिक संकेत बोकेको यात्राका रूपमा” लिएका छन् ।

मन्त्री भण्डारीका अनुसार चिनियाँ पक्षले नेपालसँग भएका विगतका समझदारीहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ, जसले दुईदेशीय सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ ।

सांस्कृतिक र आर्थिक सम्बन्धमा नयाँ सम्भावना

भ्रमणका क्रममा चीन–नेपाल सांस्कृतिक सहकार्य, पर्यटन प्रवर्द्धन, पूर्वाधारलगायत विषयमा समेत छलफल भएको र ती विषयमा भविष्यमा ठोस पहल हुने अपेक्षा गरिएको छ । चिनियाँ पक्षबाट नेपालप्रति देखाइएको सद्भावले दुवै मुलुकबीचको मैत्री सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मात्र नभई, नेपालको आन्तरिक राजनीतिक सन्तुलनमा समेत सन्देश दिने सम्भावना रहेको विश्लेषण गरिँदैछ ।



प्रतिक्रिया दिनुहोस !